आज र भोली (मंगलबार र बुधबार) देशैभरीका नदीमा बाढी आउने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मकै विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ।

कतिपय ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले नदी र खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज र भोली कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायतका नदीमा बाढी आउने छ।

त्यसैगरी मकबानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, काभ्रे, महोत्तरी, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्ला भएर बहने नदीमा बाढीको बहावले सतर्कता तह पार गर्ने अनुमान महाशाखाले गरेको छ।

महाशाखाले देशका धेरैजसो नदी, खोला र खहरेहरुमा आकस्मिक बाढीकोसमेत सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई सचेत गराएको छ।