सम्पदै सम्पदाको सहर काठमाडौंमा केही प्राचीन धरोहर यस्ता छन्, जसको ख्याति नेपालबाहिर पनि उत्तिकै छ । तीमध्ये एउटा प्रमुख सम्पदा हो— पशुपतिनाथ मन्दिर । भारतीय हिन्दु हुन् या भुटानी बौद्ध, काठमाडौं आउँदा पशुपति छिर्ने धोको धेरैलाई हुन्छ ।

कति त पशुपतिनाथको दर्शनकै लागि नेपाल आएका हुन्छन् । दर्शनार्थी मात्र होइन, सम्पदाप्रेमीका लागि पनि यो क्षेत्र दर्शनीय छ । तर, विश्व सम्पदामा सूचीकृत पशुपतिको प्राचीनतामाथि यसैगरी दखल पुर्‍याउँदै जाने हो भने यही अवस्था सधैं नरहन सक्छ ।

पशुपति क्षेत्र विकास कोष आफैंले तयार पारेको गुरुयोजनाले स्विकारेको छ, ‘आधुनिकताको मोहले पशुपतिनाथको प्राचीन स्वरूप ध्वस्त भएको छ । आधुनिक स्वरूप पशुपति क्षेत्रको पुरातात्त्विक मर्यादाप्रतिकूल देखिन्छ । यसको पुरातात्त्विक, प्राचीन वास्तुकलात्मक गरिमाको पुनःस्थापना गर्न प्राविधिक सहयोग र मापदण्ड पालनाको कडा व्यवस्था गर्न आवश्यक छ ।’ विडम्बना, कोष आफैंले गर्न लागेका कामको सूची हेर्दा भने प्राचीनता झन् नामेट पार्न लागेजस्तो देखिन्छ । तसर्थ, गुरुयोजनाप्रतिकूल हुने र सम्पदाको साख नरहने योजनालाई कोषले सच्याउनुपर्छ ।

पश्चिम ढोका भत्काएर प्रांगण विस्तार गर्ने, आर्यघाट हटाउने, ब्रह्मनाल सार्नेजस्ता योजनाले पशुपतिनाथको प्राचीनता अझ मासिने निश्चित छ । मन्दिरको वैभव आधुनिकतासित होइन, प्राचीनतासित जोडिएको यथार्थ कोषका निर्णयाधिकारीले मनन गर्नुपर्छ । त्यस्तै, पशुपतिनाथसँग त्यहाँका बस्तीको सम्बन्ध छ । त्यस क्षेत्रमा नौटोल छन् । पशुपतिमा हुने पर्व पूजा र संस्कृतिको संरक्षण गर्दै आएका तिनै बस्तीको पनि प्राचीनता मासिँदै गएको छ । कोषले नै ती बस्ती हटाइदिएर त्यहाँको संस्कृति धान्दै आएका बासिन्दालाई तितरबितर पारिदिएको छ । यसबाट कतिपय संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । प्राचीनता मासिएको र बस्ती हटाइदिन खोजेको भन्दै घरघरमा कालो झन्डा गाडेर स्थानीयवासी आन्दोलित छन् । पशुपतिनाथकै संस्कृतिसित जोडिएका स्थानीयवासीको आवाज कोषले सुन्नैपर्छ, उनीहरूको विश्वासमा र मन्दिरको मौलिकतामा कुनै असर नपर्ने गरी मात्र थप कदम चाल्नुपर्छ ।

पशुपतिनाथ प्राचीनकालदेखि नै वैदिक सनातन धर्मावलम्बीका लागि दर्शनीय स्थल हो । पशुपति क्षेत्र इतिहास, धर्म, संस्कृति, कला, वास्तुकला, प्रकृति, प्रथा र परम्पराहरूको एकीकृत रूप हो । कर्मयोगीका लागि कर्मभूमि, दानवीरका लागि दानभूमि, साधकका लागि साधनाभूमि र मोक्षार्थीका लागि मोक्षभूमिका रूपमा चिनिँदै आएको यो क्षेत्रलाई सनातन धर्मावलम्बीहरू कर्म, भक्ति र ज्ञानको त्रिवेणी मान्छन् । धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण स्थल भएकैले यो क्षेत्र युनेस्कोले विश्व सम्पदा सूचीमा पारेको हो, जहाँ पशुपतिनाथ, गुहेश्वरीलगायत थुप्रै मठमन्दिर, आश्रम, विहार चैत्य, विहारजस्ता सम्पदा छन् । नदी, घाट, पोखरी, कुण्ड, वनजंगल पनि यहाँका सौन्दर्य हुन् । वर्षैभरि हुने जात्रा र पर्वले यो क्षेत्रलाई जीवन्त बनाएको छ । यस्तो क्षेत्रलाई पुरानै शैलीमा संरक्षण गर्न सकियो भने मात्रै यसको आकर्षण बाँकी रहिरहन्छ । आधुनिकताका दृष्टिले भव्य संरचना त संसारमा जति पनि निर्माण भइरहेकै छन् । हामीले संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने नै हाम्रो प्राचीनता र मौलिकता हो ।

पाशुपत क्षेत्रको विकास गर्न भनेरै पशुपति क्षेत्र विकास कोषको परिकल्पना गरिएको हो । विकास भनेकै आधुनिकता हो भन्ने सोचबाट कोष मुक्त हुनुपर्छ । कोषको उद्देश्य यस क्षेत्रको योजनाबद्ध विकास गर्नु हो, जुन मौलिकता मासेर सम्भव हुँदैन । र, मानव बस्तीले भरिएको क्षेत्र भएकाले यहाँ बन्ने योजनामा तिनको पनि कल्पना हुनुपर्छ । यो क्षेत्र नौ ढोका, नौ ईश्वर, नौ ईश्वरी, नौ धारा, नौ पोखरी, नौ डवली, नौ इनार, नौ मार्ग र नौ चउरहरू मिलेर बनेको एकीकृत स्थल हो । त्यसैले यसलाई ९ गुणा ९ अर्थात् ८१ ग्रह संयोजन भएको स्थान भनिन्थ्यो । तर, बस्ती उठाएपछि नौ बस्ती र नौ जातिको संयोजन बिग्रिएको छ । अब बन्ने गुरुयोजनाले यो संयोजन पुनःस्थापित गर्नुपर्छ । रैथानेको विश्वास र सहभागितामा अघि बढ्दा मात्र यहाँको प्राचीनता, संस्कार–संस्कृति जोगिन्छ । सम्पदाको ऐतिहासिकता, प्राचीनता, पुरातात्त्विकतालाई ध्यान नदिएर अन्धाधुन्द विकास गर्दा कति प्राचीनता नष्ट भैसकेका छन् । थप क्षति हुन नदिन कोष सचेत हुनुपर्छ । सम्पदा क्षेत्रमा संरक्षण नै विकास हो भन्ने सोच राखिनुपर्छ । यस ऐतिहासिक सम्पदालाई पुरानै स्वरूप, शैलीमा संरक्षण गरेर विश्वभरिका दर्शनार्थी र सम्पदाप्रेमीहरूको गन्तव्य स्थान बनाउनुपर्छ ।