बारा । सशस्त्र प्रहरीले बाराबाट १८० किलोग्राम गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी महोत्तरीको टोलीले बारा कोल्ची नगरपालिका-१ श्रीपुर मसहर्नास्थित सिम्रनगढ जाने बाटोबाट सोमबार बिहान गाँजासहित कार बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार प्रदेश नम्बर ३ ०२२च ८१३४ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

कारभित्र प्लाष्टिकले पोको पारेको २० किलोको ७ पोका र १० किलोको ४ पोका गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको टोली विशेष सूचनाको आधारमा कार समात्न आकस्मिक रुपमा निस्केको थियो। प्रहरीलाई देखेपछि केही परै कार रोकेर चालक फरार भएको सशस्त्र प्रहरी दुई नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए।

प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको छ। गाँजा भारततर्फ तस्करीका लागि मकवानपुरबाट लगिएको हुनसक्ने आशंका प्रहरीको छ।