यतिबेला हामी भयभित छौं । रोग र भोकले हामीलाई सताएको छ । एकातिर असुरक्षाको भय छ भने अर्कोतिर अभावले पिरोलेको छ । जन जीविका असहज छ । कतिपयको चुलो निभेको छ । कतिपयको दैनिकी अस्पताल-उपचारमै गुज्रिदैछ । कतिपयले रोजगारी गुमाएका छन् । कतिपयको कामधन्दा ठप्प छ । आयआर्जन नहुँदा, आर्थिक समस्या बढ्दै जाँदा, रोग र भोकको आयतन तन्किदै जाँदा हामी दुःखको भुँमरीमा परेका छौं ।

राज्यमा भ्रष्टचार मौलाएको छ । रोजगारी र उद्यमशिलताको अवसरहरु खुम्चिएका छन् । लुट, हत्या, हिंसा, विभेद बढ्दो छ ।

यस्तो पृष्टभूमीमा हाम्रो खुसीको स्तर मापन गर्ने हो भने नतिजा कस्तो आउँछ होला ?

दैनिक काम–व्यवहारका बीचमा पनि हामीले बेलाबखत खुसी हुने मौका पाएका थियौं । चाडपर्व, मेला, उत्सव, जमघटले हाम्रो दुःखहरु बिर्साइदिन्थ्यो । भेटघाट, भलाकुसारीले हाम्रो पीडाहरु बिर्साइदिन्थ्यो । तर, अहिले स्थिति प्रतिकुल छ । यस्तो प्रतिकुलतामा हामी कस्तो मानसिक अवस्थाबाट गुज्रिरहेका छौं ?

समग्र मुलुककै खुसीको स्तर मापन गर्ने हो भने हामी कति श्रेणीमा छौं होला ? अर्थात विश्वका मुलुकहरुको तुलनामा हामी कति खुसी छौं ? यसको ठ्याक्कै जवाफ छैन । यद्यपि एउटा निश्चित मापदण्ड बनाएर खुसीको स्तर जाँच्ने काम भने वैश्विक रुपमै हुँदै आएको छ । यसै अनुरुप विश्वमा कुन मुलुकमा मान्छे बढी खुसी छन् भनेर बेलाबखत सोधीखोजी हुने गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्क’ले विश्वभरको सर्वेक्षणबाट ‘ह्याप्पिनेस रिपोर्ट’ सार्वजनिक गर्ने गर्छ । उक्त रिपोर्ट अनुसार फिनल्यान्ड सर्वाधिक खुसी मुलुकको सूचीमा समेटिदै आएको छ । आखिर कुनै मुलुकका जनता किन खुसी हुन्छन् ? उनीहरु कस्तो वातावरणमा छन् ? त्यस्तो के कुरा छ जसले उनीहरुलाई खुसी बनाउँछ ?

हामीले पाइला पाइलामा असुरक्षा, भय, चिन्ता लिएर हिँडिरहेका छौं । जबकी फिनल्यान्डमा त्यस्तो स्थिति छैन । भनिन्छ, हामी जस्तो अरुको कारणले भयाभित हुनुपर्ने, अरुको कारणले अपहेलित हुनुपर्ने, अरुको कारणले हतोत्साही हुनुपर्ने, अरुको कारणले क्रोधित हुनुपर्ने अवस्था त्यहाँ छैन । फिनल्यान्डबासीहरु खुसी हुनुको एउटा कारण यो पनि हो ।

हामीकहाँ श्रमको उचित मूल्य छैन । जति श्रम गरेपनि सुविधायुक्त जीवन विताउन संभव छैन । मेहनत वा श्रम गर्नेहरु सधै अभावमा बाँच्नुपर्ने बाध्यता छ । जबकी फिनल्यान्डवासीलाई धेरै खर्च गर्नुपर्ने वा कमाउनुपर्ने दवाव छैन । हामीले जीवनभरको कमाई छोराछोरीको शिक्षामा खर्च गर्छौं । पढेर पनि छोराछोरी बेरोजगार हुन्छन् । जबकी फिनल्यान्डमा अभिभावकले छोराछोरीको पढाईका लागि एकरत्ती तनाव लिनुपर्दैन । व्यायभार पनि हुँदैन । पठनपाठन, पोशाक, शैक्षिक सामाग्रीदेखि खानेकुरासम्म सरकारले नै उपलब्ध गराउँछ । त्यो पनि गुणस्तरिय ।

हामीकहाँ खुलमखुला भ्रष्टचार हुन्छ, हत्या, हिंसा, अपराध हुन्छ । अपराधीहरुलाई नेता-मन्त्रीले संरक्षण दिएर राख्छन् । पीडकहरु सधै पीडामा डुब्नुपर्ने बाध्यता छ । जबकी फिनल्यान्डमा अपराधिक गतिविधि शून्य बराबर छ ।

राज्यप्रति भरोसा गर्न सकिने अवस्था छैन हामीकहाँ । राज्य प्रदत्त सेवा सुविधाबाट समेत वञ्चित छन्, धेरैजसो । पहुँच हुने वा नेता–मन्त्रीका नातेदार र आफन्तहरु मात्र राज्यको सुविधाबाट लाभान्वित हुन्छन् । जबकी फिनल्यान्ड समृद्ध देश भएर पनि सरकारले जनतालाई विशेष सुविधा उपलब्ध गराएको छ । आर्थिक सुरक्षादेखि सित्तैमा स्वास्थ्य सेवा उपलब्ध गराउँछ । भनिन्छ, फिनल्यान्डमा कोहीपनि घरबारविहिन छैनन् । पर्यटक वा आगन्तुकले पनि त्यस मुलुकलाई अति सुरक्षित मान्ने गर्छन् ।

फिनल्यान्डमा मानवअधिकारको सम्मान गरिन्छ । लैंगिक समानताको लागि पनि उदाहरणिय मुलुक हो यो । यहाँ बेरोजगारीको पीडा पनि छैन । सबैले सबैको ख्याल राख्ने किसिमको संस्कार र राज्य संयन्त्र छ । यतिसम्म कि पर्यावरण सम्बन्धी नीति समेत सानो सानो कुरामा ख्याल गरेर तयार गरिन्छ ।

मुलुक राम्रो भएपछि, सामाजिक संस्कार राम्रो भएपछि, मानविय व्यवहार राम्रो भएपछि त्यहाँको वातावरण नै राम्रो हुन्छ । त्यस्तो वातावरणमा हुर्किएकाहरुमा मनोविकार हुँदैन । उनीहरु सधै सकारात्मक, उर्जावान र खुसी हुन्छन् । फिनल्यान्डका मानिसहरु धेरै खुलेर खुसी व्यक्ति गर्ने वा धेरै दुःखी भएर बिलौना गर्ने प्रवृत्तिका छैनन् । उनीहरु अन्र्तमुखी हुन्छन् । रिस होस वा खुसी, खुलेर व्यक्ति गर्दैनन् । उनीहरु आ-आफ्नै जिन्दगीमा मग्न हुन्छन् । उनीहरु एकदमै सन्तुलित जीवन विताउँछन् ।

फिनल्यान्डवासी खुसी हुनुमा त्यहाँको सुरक्षा स्थिती हो । कोही पनि, कसैबाट भयाभित छैनन् । सुरक्षाको प्रत्याभूत राम्ररी गरेका छन् । मानौ फिनल्यान्डमा तपाईंको मूल्यावान सामाग्री कतै छुट्यो वा हरायो, कसैले त्यसलाई लाने छैनन् ।

खुसी हुनुमा जीवनशैली एवं रहनसहनले पनि भूमिका खेल्छ । स्वास्थ्य जीवन, सन्तुलित दिनचर्या, आपसी सद्भाव र सहयोग आदि कुराले फिनल्यान्डबासीलाई खुसी तुल्याएको हो । तर, हामी ?