खोटाङ — माथिल्लो रावाखोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउँपालिकाको रावाखोलामा उत्पादित तीन किलोवाट विद्युत् केन्द्रीय लाइनमा जोडिएको हो ।

उक्त विद्युत् रावा इनर्जी डेभलपमेन्ट प्रालिले उत्पादन गरेको हो । केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको बीचमा पर्ने रावाखोलामा उत्पादित विद्युत भदौ १५ गते केन्द्रीय लाइनमा जोडिएको आयोजनाका प्रवर्द्धक मुक्ति तिमिल्सेनाले बताए । ‘भदौ १६ देखि नेपाल विद्युत् प्राधिकरणले मिटर सिल पनि गरिसकेको छ,’ उनले भने ।

केपिलासगढी–४ बाक्सिलामा सब–स्टेसन बनाएर गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइनअन्तर्गत बुइपा सब–स्टेसनमा जोडिएको हो । रावा खोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट २१ सय मिटर लामो पाइपलाइन मार्फत सुङदेलकै दाम्कुबेंसीमा खसाएर विद्युत् उत्पादन गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत र प्रवर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करिब ६० करोडको लागतमा उक्त आयोजना सम्पन्न भएको तिमिल्सेनाले सुनाए । २०७३ सालदेखि कन्ट्रक्सनको काम थालिएको यो आयोजना जिल्लामा निजी क्षेत्रबाट सम्पन्न सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना हो ।प्रकाशित : भाद्र १७, २०७७ १२:१३