कोरोना संक्रमणको कारण भारतमा थप ८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपालीको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २ सय ९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।

तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ।

Century masala 2

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३ सय ५३ जना कोरोना सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरूको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार २०२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समितिले चाडपर्वका बेला हुने ससाना भेटघाटहरू कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा.सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरे। रासस