पर्सामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ।

पर्साको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनलको आइशोलेसनमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ की ६४ वर्षीया महिलाको संक्रमणका कारण हिजो साँझ मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएपछि महिलालाई आइतबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना पश्चात कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोमा स्वाबलाई जिन एक्पर्ट प्रविधिबाट परीक्षण गर्दा आइतबार नै उनमा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि महिलालाई वीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा ईन्टरनेशनलको आइशोलेसनमा रहेको आइसियूमा राखेर उपचार गरिएकोमा मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै जिल्लामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।