काठमाडौँ — पार्टी सचिवालय बैठकमा पेस गरेको प्रस्ताव तथा अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावको जवाफमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी नेतृत्व त्याग्न तयार रहेको उल्लेख गर्दै दाहाललाई त्यसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् । 

जवाफको बुँदा २३ मा उनले भनेका छन्, ‘म आज खुल्ला आहृवान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौं ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’ उनले चार महिनापछि पार्टीको महाधिवशेन हुन लागेको सन्दर्भ उल्लेख गर्दै लेखेका छन्- ‘मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’

यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले प्रस्तावमा आफूलाई लगाएका आरोप पुष्टि गर्न पनि चुनौती दिएका छन् । उनले भनेका छन्, ‘कि त आरोप पुष्टि गर्नुस् होयन भने परिणामको जवाफदेहिता लिन तयार हुनुहोस् ।’

५३ बुँदे जवाफको बुँदा २४ औं बुँदामा उनले लेखेका छन्, ‘तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाउनु भएको छ । पार्टीमा उत्पन्न अन्योल र गतिरोध’ का लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार ‘करार’ गर्नुभएको छ। अझ अगाडि बढेर ‘चरम असहिष्णु’, ‘बहुमतको निर्णय मान्दिना’ भन्ने दम्भी, ‘वुर्जुवा अराजकतावादी’, र ‘सामन्ती निरङ्कुश’ आदि अनेकौं फरेब लगाउनु लगाउनु भएको छ ।

मलाई ‘नवउदारवादी’, ‘दलाल–नोकरशाही पुँजीवादी बाटोको अनुशरण गरेको’ र ‘समाजवाद’ विरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली ‘परम्परागत संसदीय गणतन्त्र’ मा बदलिएको निष्कर्ष निकाल्नुभएको छ । अझ अगाडि बढेर ममाथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा …..अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरु लगाइएको छ । कहिलेकाहीं आफैं छक्क पर्छु, कम्युनिष्ट आन्दोलनमा यो कस्तो सङ्क्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरु हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु ।

यति धेरै आरोप र अभियोग लगाइसके पछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि ‘गम्भीर आत्मसमीक्षा’ र ‘आत्मालोचना’ को माग गर्नुभएको छ । यदि यी आरोप सत्य हुन् भने, यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ– कि यी आरोपहरु पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस् ।’