काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आफ्नो रोहबरमा कृषक र उद्योगीबीच भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै लज्जास्पद विषय भएको बताएको छ । यस विषयमा सरकार उदासीन बनेको पनि काँग्रेसले आरोप लगाएको छ ।

काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति गर्दै विगतमा सरकारी रोहबरमा कृषक र उद्योगी बीच भएको सहमति हालसम्म कार्यान्वयन नहुन दु:खद भएको बताए ।

उखु बिक्री बापतको भुक्तानी पाउनका लागि गरिब किसानहरु काठमाडौंको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत छन् । विगतमा सरकारी रोहबरमा कृषक र उद्योगीबीच भएको सहमति हालसम्म कार्यान्वयन भएको छैन । विभिन्न समयमा राष्ट्रपतिदेखि सरकार र सरोकारवाला समक्ष हारगुहार गर्दा पनि उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौं आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष हो । यस विषय प्रति सरकारको गम्भीर ध्यानकर्षण गराउँदछौं, विज्ञप्तिका भनिएको छ ।

सरकारलाई सहमति मात्र होइन कार्यान्वयन गराउन पनि अग्रसर हुनका साथै कृषकहरुको मागप्रति गम्भीर हुन काँग्रेसले सचेत गराएको छ ।

कृषकहरुको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन सरकारले ठोस एवं प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन पनि काँग्रेसले माग गरेको छ ।