रौतहट । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले ५ महिनाको अवधिमा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेश २ को प्रायः सबै जिल्लामा ट्राफिक नियम विपरित चलेका सवारी साधन लगायत विभिन्न स्रोतबाट हुने राजश्व संकलनमा वृद्धि भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांक अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म प्रदेश २ मा ५ करोड ५६ लाख २२ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको छ ।
ट्राफिक नियम विपरित चलेका ८५ हजार नौ सय दुईवटा सवारी साधन सो अवधिमा कारवाहीको दायरामा आएका छन् ।

प्रदेश २ ट्राफिक प्रहरीप्रमुख एसपी श्यामकुमार महतोका अनुसार बढ्दो सवारी दुर्घटना न्युन गर्ने उद्देश्यले प्रदेशको विभिन्न जिल्लामा चालक, सहचालक, यात्रु र सर्वसाधारणसँग समेत समन्वय हुने गरी सोही अवधिमा एकहजार पाँचसय ६२ वटा जनचेतनामुलक कार्यक्रम भएका छन् । उक्त कार्यक्रमहरुमा ७१ हजारभन्दा नागरिक सहभागी भएको बताइएको छ ।

प्रदेश २ मा गत साउनदेखि मंसिर मसान्तसम्म कुल एक हजार आठसय सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा परेर दुईसय ११ जना मानिसको मृत्यु भएको छ भने आठसय १५ जना मानिस गम्भीर घाईते भएका थिए । त्यसैगरी सोही दुर्घटनामा परेर एक हजार आठसय ९६ जना मानिस सामान्य घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका सई सुरेन्द्र कोइरालाले बताए ।

अघिकांश दुर्घटना राजमार्ग बाहेक भित्री सडकमा भएको पाइएको छ । अधिकांश दुर्घटनामा मानवीय कारणले नै भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।