sf7df8f}F, @& ;fpgM gjlgo'Qm l3l;ª kbef/ ;DxfNb} g]kfn ljB't k|flws/0fsf gjlgo'Qm sfo{sf/L lgb]{zs s'ndfg l3l;ª a'waf/ sfof{nodf kbef/ ;DxfNb} . tl:a/M k|bLk/fh jGt÷/f;;

नेपाल विद्युत् प्राधिकरण स्थापना भएको ३६ वर्ष पुगेको सन्दर्भमा केही दिनअघि मात्र दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति पाएका कुलमा घिसिङले गत वर्ष भएका उपलब्धि, भइरहेका काम र आगामी योजना समेटेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्। २०४२ भदौ १ गते स्थापना भएको प्राधिकरणले आज ३६औं वार्षिकोत्सव मनाउँदै छ। 

घिसिङले प्रतिवेदनमा लेखेका छन्, ‘गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गर्न सकेकोमा हाल ६ वटै यु्निटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीका रूपमा लिएका छौं।’ 

अहिलेसम्म देशको कूल जनसंख्याको ९० प्रतिशत नागरिकसम्म आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

२०८० सालभित्र देशका सबै नागरिकसम्म विद्युत् पुर्याउने सरकारको लक्ष्यअनुसार प्राधिकरणले काम गरिरहेको उनले उल्लेख गरेका छन्। 

‘संवत् २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ,’ प्रतिवेदनमा उनले भनेका छन्। 

कार्यकारी निर्देशकको प्रतिवेदन-२०७८ (पूर्ण पाठ)
वि.सं. २०४२ साल भदौ १ गते स्थापना भएको नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३६औं वार्षिकोत्सव मनाउँदै छ। विद्यमान कोभिड–१९ को विषम परिस्थितिका बाबजुद नियमित रूपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सफल भएको छ। प्राधिकरणले गत वर्षभरिमा सम्पादन गरेका गतिविधिबाट प्राप्त उपलब्धि र भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन यहाँहरू समक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गर्न सकेकोमा हाल ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीका रूपमा लिएका छौं। 

कोरोना महामारीले विद्युत् चुहावट र संस्थाको मुनाफामा प्रतिकूल असर पारेको छ। आम जनताको जीउधनको सुरक्षाका लागि नेपाल सरकार र स्थानीय प्रशासनबाट जारी गरिएको

बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत् चुहावट नियन्त्रण गर्ने कार्य प्रभावित हुन पुग्यो। जसका कारण गत वर्ष १५.२७ प्रतिशत रहेको विद्युत् चुहावट आ.व. २०७७÷७८ मा १७.१८ प्रतिशत हुन गएको छ।

विश्वमा उपलब्ध आधुनिक प्रविधिहरूको अधिकतम प्रयोग गरी सेवा प्रवाहमा चुस्तता ल्याउन र गुणस्तर वृद्धि गर्न प्राधिकरण प्रयत्नशील रहेको छ। यसैअनुसार संस्थागत स्रोत योजना (Enterprises Resource Planning) को कार्यान्वयन, संरचनाहरूको भौगोलिक नक्सांकन (Grographical Mapping ‘GIS’), स्मार्ट मिटरिङ, सबस्टेसनहरू स्वचालित गर्ने गत वर्षको योजनाहरू कार्यान्वयन भइरहेको छ। सूचना प्रविधि मार्गचित्रको अवधारण अनुरूप Digital NEA बनाउँदै नेपाल सरकारको ’डिजिटल नेपाल’ निर्माण गर्ने लक्ष्य पूरा गर्न प्राधिकरणले विविध योजनाहरू कार्यान्वयन गरिरहेको छ।

सुरक्षासम्बन्धी मापदण्ड अपनाउँदा अपनाउँदै पनि गत वर्ष कर्तव्य निर्वाहको क्रममा प्राधिकरणका कर्मचारीहरू घाईते, अंगभंग हुनुका साथै केहीको दुखःद् निधनसमेत भएको छ। आफ्नो कर्तव्य पालना गरिरहँदा कोभिड–१९ संक्रमणकै कारणले प्राधिकरणले आफ्नो परिवारको केही सदस्यहरू गुमाउनुपरेकोमा हामीलाई थप मर्माहत बनाएको छ। दिवंगत कर्मचारीहरूप्रति म व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना व्यक्त गर्दछु। आगामी दिनमा यस किसिमका घटनाहरू हुन नदिन सबै किसिमका सुरक्षाका उपायहरू अवलम्बन गरी उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खटिने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दछु।

कोभिड–१९ संक्रमणको कारणले जीवन गुमाउनुभएका उपभोक्ता तथा नागरिकहरूप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दैै संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु।  

आ.व. २०७७/७८ मा संस्थाले गरेको कार्य सम्पादन, प्राप्त उपलब्धि र आगामी दिनको कार्ययोजनाहरू निम्नानुसार रहेको व्यहोरा अनुरोध गर्दछु:

सञ्चालन उपलब्धि
विगतमा जस्तै गत वर्ष पनि विद्युत् खपत गर्ने ग्राहकहरूको संख्यामा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ। सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ।

समग्रमा हालसम्म कूल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको छ।

आ.व. २०७७/७८ मा साना विद्युतगृहसहित प्राधिकरणका जलविद्युतगृहबाट कूल २ अर्ब ८१ करोडयुनिट विद्युत् मात्र उत्पादन भयो। यो आ. व. २०७६/७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो। आ.व.२०७६/७७ मा निजी क्षेत्रका विद्युतगृहहरूबाट २ अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आ.व.मा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्ब २४ करोड युनिट प्राप्त भएको छ। यस्तै, आ. व. २०७६/७७ मा भारतबाट १ अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ।

गत आ.व.मा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भयो। जुन आ.व.२०७६/७७ मा ७ अर्र्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो। कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातीत र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ।

आ.व.२०७७/७८ मा कूल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ। जुन आ.व.२०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ। आ.व. २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत रहेको छ, जुन आ.व.७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ। विद्युत् खपतमा भएको वृद्धि कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रूपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसकेको आदि कारणले उक्त चुहावटमा वृद्धि हुन गएको छ।

वित्तीय उपलब्धि
आ.व.२०७७/७८ मा विद्युत बिक्रीबाट कूल रु.७१ अर्ब २८ करोड आम्दानी भएको छ। जुन आ.व.२०७६/७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको छ।

आ.व.२०७७/७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.६१ अर्ब ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्धि भई रु.६८ अर्ब ४५ करोड पुगेको छ। विद्युत् खरिदबापत आ.व.२०७७/७८ मा रु.४१ अर्ब ४६ करोड खर्च भएको छ। जुन आ.व.७६/७७ को खरिद रु. ३५ अर्ब १२ करोड भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ।

आ.व.२०७७/७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी रु. ८० अर्र्ब ३५ करोडमा सञ्चालन खर्च रु.६८ अर्ब ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा रु. ११ अर्ब ७१ करोड रहेको छ। यो सञ्चालन मुनाफा आ.व. २०७६/७७ को रु. २३ अर्ब ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो। गत आ.व.मा करअघिको मुनाफा ६ अर्ब रहेको छ, जुन आ.व. २०७६/७७ को रु. १३ अर्ब २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो। साथै आ.व. २०७६/७७ को करपछिको खुद मुनाफा रु. ११ अर्ब ६८ करोड रहेकोमा गत आ.व.मा रु. ३ अर्ब ५१ करोड अर्थात् ६९.९४ प्रतिशतले कमी रहेको छ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ। विद्युत बिक्रीबापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत् खरिदमा खर्च भएको छ। आ.व.२०७६/७७ को तुलनामा विद्युत् आयात बढ्न गएकोले आ.व. २०७७/७८ मा विद्युत् खरिदबापतको खर्चमा १८.०५ प्रतिशतले वृद्धि भएको छ। 

आ.व.२०७७/७८ मा दीर्घकालीन ऋणको ब्याज ५ अर्ब पुगेको छ। त्यस्तै ह्रासकट्टी खर्च अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ३४ करोड पुगेको छ। विदेशी मुद्रा विनिमयतर्फ अघिल्लो वर्ष २२ करोड ८० लाख नोक्सानी व्यहोरेकोमा आ.व.२०७७/७८ रु. १७ करोड ७८ लाख आम्दानी गरेको छ। पुँजीगत कार्यको लगानीमा रु. २६ अर्ब ६४ करोडले थप भई आ.व. २०७७/७८ सम्मको कुल पुँजीगत लगानी रु. १ खर्ब ४० अर्ब ९४ करोड पुगेको छ। उपदान, निवृत्तिभरण, औषधि/उपचार खर्च, सञ्चित बिदाजस्ता कर्मचारीको दीर्घकालीन दायित्वको लागि रु.४ अर्ब छुट्टयाइएको छ।​

प्रशासनिक गतिविधि
कर्मचारीको वृत्ति विकास र सेवा सुविधालाई ध्यानमा राखी नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली–२०७५ मा आवश्यक्तानुसार संशोधन गरिएको छ। प्राधिकरणको सांगठिनक तथा दरबन्दी संरचनामा समयानुकूल सुधार गर्न गठित उपसमितिले अध्ययन सम्पन्न गरी पेस गर्ने प्रतिवेदनका आधारमा संगठन तथा दरबन्दी संरचनामा आवश्यक पुनरवलोकन गरिनेछ। प्राधिकरणको आर्थिक, प्रशासनिक र गुनासो व्यवस्थापनलगायतका कार्यलाई विद्युतीय प्रणालीमार्फत सम्पादन गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

निर्माणाधीन आयोजनाहरू
नेपाल विद्युत् प्राधिकरणबाट अगाडि बढाइएका दूधकोसी, माथिल्लो अरुण, माथिल्लो मोदी, चैनपुर सेती, तामाकोसी ५, आँधीखोला र उत्तरगंगा, कुलेखानी सिस्नेरी पम्पस्टोरेज, रूपा बेग्नास पम्प स्टोरेजलगायतका जलविद्युत् आयोजनाहरू अध्ययन तथा विकासको विभिन्न चरणमा रहेका छन्।

आ.व.२०७७/७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नतिसहितको २१३४.२० एमभीए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको छ।

प्राधिकरणबाट १३२ के.भी., २२० के.भी. र ४०० के.भी. क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कूल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभीए क्षमता बराबरका ग्रिड सबस्टेसनहरू निर्माण भइरहेका छन्। यी आयोजनाहरू प्रसारण निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत निर्माण भइरहेका छन्।

प्राधिकरणले कोरोना महामारीका बाबजुद आ.व. २०७७/७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूत रूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ। कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पु¥याइएको छ।

प्राधिकरणले आ.व. २०७७/७८ मा सम्पन्न गरेको २२६.५ एम.भी.ए. क्षमताका ३३/११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कूल १९२८ एम.भी.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ।

आ.व.२०७७/७८ मा ३३ के.भी., ११ के.भी. र ०.४/०.२३ के.भी.वितरण लाइनहरू क्रमशः ७०९ सर्किट किलोमिटर, २८२७ सर्किट किलोमिटर र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भई हालसम्म निर्माण सम्पन्न भएका उल्लेखित क्षमताका लाइनहरू क्रमशः ६०१९ सर्किट कि.मी., ४१,५५० सर्किट कि.मी.र १,२९,०८१ सर्किट कि.मी. पुगेको छ।

साथै हालसम्म ३,६२३ एम.भी.ए. क्षमताका ३७,१६३ वटा वितरण ट्रान्सफर्मरहरू वितरण प्रणालीमा जडान भएका छन्।

वितरण प्रणालीतर्फ आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत २१२.२ एम.भी.ए क्षमता बराबरका ३३/११ केभी सबस्टेसन, २०६६ सर्किट किलोमिटर ३३/११ के.भी. लाइन, ८४० सर्किट किलोमिटर ११ के.भी. भूमिगत वितरण लाइन, १८९४ सर्किट कि.मी.को ४०० भोल्टको लाइन र १११७ सर्किट कि.मी.को ४०० भोल्ट भूमिगत वितरण लाइन निर्माण भइरहेका छन्। साथै ८ एम.भी.ए.को एउटा ३३/११ के.भी.सबस्टेसनको निर्माण सम्पन्न भएको छ भने ३३ के.भी., ११ के.भी. र ४०० भोल्टेज स्तरका क्रमशः १०५ किलोमिटर, १७२ किलोमिटर र ४०० किलोमिटर लाइनको निर्माण पूरा भएको छ।

संवत् २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ। वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरूप रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका अधिकांश स्थानमा वितरण प्रणाली भूमिगत गर्ने कार्य पूरा भएको छ।

कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजु वितरण केन्द्रमा वितरण लाइन भूमिगत गर्ने कार्य अगाडि बढिसकेको छ भने ललितपुर र भक्तपुरमासमेत वितरण प्रणाली भूमिगत गर्ने कार्यको ठेक्का सम्झौता भइसकेको छ। उपत्यकाबाहिर पोखरा र भरतपुरमा पनि वितरण लाइन भूमिगत गर्ने कार्यको लागि ठेकेदार छनोट गर्ने कार्य अन्तिम चरणमा रहेको छ।

स्मार्ट ग्रिड र स्मार्ट मिटरको कार्यान्वयनबाट ग्राहकलाई सहज र भरपर्दाे विद्युत् सेवा उपलब्ध गराउने क्रममा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकहरूको घरमा स्मार्ट मिटर जडानको काम सम्पन्न हुने अवस्थामा रहेको छ। साथै देशैभरि थ्री फेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडि बढाइएको छ।

वितरण प्रणाली स्वचालित बनाउन तथा स्मार्ट मिटरलगायत सूचना प्रविधि सम्बद्घ कार्य गर्न स्युचाटारको भारप्रेषण केन्द्रमा वितरण प्रणाली नियन्त्रणसहितको डाटा भण्डारण तथा सञ्चालनका लागि डाटा सेन्टर निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ।

चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरीे उपत्यकाका १३ वटा ग्रिड सबस्टेसनमा स्वचालित सबस्टेसन प्रणाली जडान गर्ने कार्य भइरहेको छ। 

मुलुकमा प्रसारण प्रणालीको पूर्वाधार विकास गर्न १९०० सर्किट कि.मी. भन्दा बढी ४०० के.भी. प्रसारण लाइन र २९० सर्किट किलोमिटर १३२ केभी प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययनको कार्य परामर्शदाताले गरिरहेको छ। त्यसैगरी आगामी ३० वर्षसम्मका लागि देशका प्रमुख सहरहरूमा पर्याप्त विद्युत् उपलब्ध गराउन आवश्यक प्रसारण लाइन र सबस्टेसनको अध्ययन गर्ने कार्यसमेत परामर्शदाताबाट भइरहेको छ।

सहायक कम्पनीहरू
प्राधिकरणका सहायक कम्पनीहरूमार्फत सञ्चालित विभिन्न आयोजनाको प्रगति एवम् अवस्था निम्नानुसार रहेको छः

१. चिलिमे जलविद्युत् कम्पनी लिमिटेड
प्राधिकरणको सहायक कम्पनीको रूपमा स्थापित चिलिमे जलविद्युत् कम्पनीको स्वामित्वमा २२.१ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र सञ्चालनमा रहेको छ। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीहरू, रसुवागढी, मध्य-भोटेकोसी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरू क्रमशः १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य-भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन तथा १४.८ मेगावाटको अपर सान्जेन जलविद्युत् आयोजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन्।

तीमध्ये १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना र ४२.५ मेगावाटको सान्जेन तथा १४.८ मेगावाटको अपर सान्जेन सन् २०२१/२२ मा सम्पन्न हुने अवस्थामा रहेको छ। पछिल्लो समयमा निर्माण प्रगति सन्तोषजनक रहेको मध्य–भोटेकोसी जलविद्युत् आयोजनामा गत २०७८ असार १ गतेको आएको बाढीले धेरै नोक्सानी पु¥याएको हुँदा निर्माण सम्पन्न हुन थप केही समय लाग्ने देखिन्छ।

परामर्श सेवा प्रदान गर्ने उद्देश्यले स्थापित चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अर्को सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडबाट ३०८ मेगावाट क्षमता बराबरका विभिन्न जलविद्युत् आयोजनाहरूको सम्भाव्यता अध्ययन भइरहेको छ भने अपर सान्जेन तथा सान्जेन जलविद्युत् आयोजनामा आयोजना सुपरिवेक्षण परामर्शदाताको रूपमा समेत सेवा प्रदान गरिरहेको छ।

२. माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेड
माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ। 

साथै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीबाट इपीसी (Engineering, Procurement & Construction) ढाँचामा २२ मेगावाटको रोलवालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न पूर्वयोग्यता छनोट सम्पन्न भई छनोट भएका बोलपत्रदाताहरूबाट प्रस्ताव आहहवन गर्ने कार्य अगाडि बढाइएको छ।

३. तनहुँ जलविद्युत् कम्पनी लिमिटेड
दातृ निकायहरू एसियाली विकास बैंक (ADB), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) र युरोपियन इन्भेस्टमेन्ट बैंक (EIB) को ऋण सहयोगमा तनहुँ जलविद्युत् कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

खरिद प्याकेज–२ अन्तर्गत विद्युतगृह, जलमार्ग र सम्बन्धित उपकरणको निर्माण तथा जडान कार्य एवम् खरिद प्याकेज–३ अन्तर्गत २२० के.भी. प्रसारण लाइन निर्माण कार्यको ठेकेदार छनोट भई निर्माण कार्य सुरु भइसकेको छ भने खरिद प्याकेज–१ अन्तर्गत हेडवर्क्स (Headworks) निर्माण कार्यको लागिसमेत हालै ठेक्का सम्झौता गरिएको छ।

उक्त कम्पनीबाट प्रवर्द्धन गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको विस्तृत डिजाइन कार्य एसियाली विकास बैंकको अनुदान सहयोगमा संयुक्त उपक्रमको परामर्शदाता वाप्कोस लिमिटेड र निप्पोन कोई कम्पनी लिमिटेडले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन सम्पन्न गरी प्रतिवेदन पेस गरिसकेको छ। 

४. त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड
नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड मुख्य प्रवर्द्धक रहेको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडबाट अपर त्रिशूली–३ ए को क्यास्केड आयोजनाको रूपमा ३७ मेगावाटको माथिल्लो त्रिशूली– ३ बी जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ। नेपाल सरकारको “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयर धनी” कार्यक्रममा समावेश यस आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (EPC) ढाँचामा ठेकेदार सुफिया एएनएचई ग्रुप कम्पनी लिमिटेड (ShufiaANHEGroupCo. Limited, China) बाट निर्माण भइरहेको छ। यस आयोजनाको निर्माण कार्य १४ मार्च २०१८ मा सुरु भएकोमा कोभिड–१९ को प्रकोपलगायतका कारणले गर्दा आयोजना निर्माण सम्पन्न गर्न थप समयावधि लाग्ने देखिन्छ।

५. रघुगंगा जलविद्युत् लिमिटेड
रघुगंगा जलविद्युत् कम्पनी लिमिटेडबाट प्रवद्र्घित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ। यस आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कार्यको ठेकेदार जयप्रकाश एसोसिएट्स् लिमिटेड, भारत रहेको छ भने इलेक्ट्रोमेकानिकल कार्यको ठेकेदार भारत हेभी इलेक्ट्रिकल लिमिटेड रहेको छ। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजना पनि कोभिड–१९ को प्रकोपलगायतका कारणले गर्दा निर्माण सम्पन्न गर्न थप समय लाग्ने देखिन्छ।

६. माथिल्लो अरुण जलविद्युत् लिमिटेड
१०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत् आयोजना निर्माणको लागि माथिल्लो अरुण जलविद्युत् कम्पनी स्थापना गरिएको हो।

यी दुवै जलविद्युत् आयोजना निर्माणको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्यको लागि नियुक्त परामर्शदाताबाट सम्भाव्यता अध्ययन प्रतिवेदन अद्यावधिक गरी पेस भइसकेको छ। यसैगरी पहुँच मार्ग निर्माणको लागि विस्तृत इन्जिनियरिङ डिजाइन, बोलपत्रसम्बन्धी कागजातको तयारी, निर्माण सुपरिवेक्षण तथा करार व्यवस्थापनको लागि नियुक्त परामर्शदाताबाट डिजाइनको मस्यौदा प्रतिवेदन एवम् बोलपत्र पुनरवलोकनको लागि पेस भएको छ। यसका अतिरिक्त आयोजनाको भौगर्भिक अध्ययन, विस्तृत इन्जिनियरिङ डिजाइनका साथै वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन कार्यसमेत संयुक्त रूपमा अगाडि बढाइएको छ।

७. तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड
तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यास्केड (Cascade) आयोजनाको रूपमा रहेको ९९.८ मेगावाटको तामाकोसी जलविद्युत् आयोजना निर्माण गर्न लागिएको छ। परामर्शदाता ट्रयाक्टेबल इन्जिनियरिङ जीएमबीएच (Tractable Engineering GMBH) बाट आयोजनाको विस्तृत डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भइसकेको छ। आयोजनाको लागि स्थायी आवासलगायतको पूर्वाधार निर्माणको कार्य सुचारु रहेको छ भने आयोजनामा लगानी गर्न प्राधिकरण, कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय समझदारी पत्र (MoU) मा हस्ताक्षर भइसकेको छ। चालु आ.व.मा बोलपत्रसम्बन्धी कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

८.दूधकोसी जलविद्युत् कम्पनी लिमिटेड
६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको लागि प्राधिकरणबाट यस सहायक कम्पनीको स्थापना गरिएको हो। एसियाली विकास बैंकको अनुदान सहयोगमा परामर्शदाताबाट आयोजनाको अन्तिम विस्तृत डिजाइन प्रतिवेदन तयार भइसकेको र सोमा प्राधिकरणबाट उपलब्ध गराइएको सुझावहरू समेट्ने कार्य भइरहेको छ।

एसियाली विकास बैंक (ADB) बाट आयोजना निर्माणको लागि ५५ करोड अमेरिकी डलर बरावरको सहुलियत ऋण सहयोग तथा २ करोड अमेरिकी डलर बराबरको अनुदान सहयोगको प्रतिबद्घता प्राप्त भइसकेको र ADB को अगुवाइमा युरोपियन इन्भेस्टमेन्ट बैंक (EIB), एसियन इन्फ्रास्ट्रक्चर इनभेस्टमेन्ट बैंक (AIIB) र कोरियन एक्जिम बैंक (KEXIM) बाट संयुक्त रूपमा आयोजनामा लगानी गर्नेतर्फ छलफल अगाडि बढाइएको छ। आयोजना निर्माणको लागि आवश्यक जग्गामध्ये १३ हजार रोपनी खरिद गर्न जग्गा अधिग्रहणको सूचना प्रकाशित भइसकेको छ। चालु आ.व.भित्रै आयोजनाको बाँध निर्माणको लागि बोलपत्र आह्वान गर्ने लक्ष्य रहेको छ। 

९.एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड
ऊर्जा क्षेत्रको विकासको लागि इन्जिनियरिङ सेवा प्रदान गर्न प्राधिकरणको ५१ प्रतिशत सेयर रहनेगरी सन् २०१७ मा यस कम्पनीको स्थापना भएको हो। ठूला जलविद्युत् आयोजना, उच्च भोल्टेजको प्रसारण लाइन तथा सबस्टेसन, आधुनिक विद्युत् वितरण प्रणालीमा स्वदेशी प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा संलग्न भइसकेको यस कम्पनीले हालसम्म विभिन्न इन्जिनियरिङ तथा डिजाइनसम्बन्धी विविध कार्यहरू सम्पादन गरिसकेको छ भने अन्य २० भन्दा बढी इन्जिनियरिङ तथा डिजाइनसम्बन्धी सम्झौताअनुसारका कार्यहरू भइरहेको छ।

इन्जिनियरिङ सेवालाई थप परिष्कृत गर्न तथा आवश्यक विज्ञहरूको सेवा आदानप्रदान गर्ने उद्देश्यले अस्ट्रेलिया र बेलायतस्थित नेपालिज टेक्निकल डायस्पोरा (NepaleseTechnicalDiaspora) लगायत क्यानडा, अमेरिका, चाइना र भारतस्थित अन्तर्राष्ट्रिय परामर्श सेवा प्रदायक कम्पनीहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

१०.नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड
नेपालभित्र र बाहिर विद्युत् व्यापार गर्ने उद्देश्यका साथ यस कम्पनीको स्थापना गरिएको हो। कम्पनी सञ्चालन गर्न सञ्चालक समितिद्वारा व्यापारिक योजना स्वीकृत भइसकेको छ। विद्युत् व्यापार गर्न चाहिने अनुमतिपत्रसम्बन्धी विषय हालसम्म विचाराधीन रहेकोले सबै कानुनी प्रक्रिया पूरा गरेर कम्पनी चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याइनेछ।

११. पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड
नेपाल र भारतबीच विद्युत् आदानप्रदान गर्न तथा द्विपक्षीय लाभका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापित यस कम्पनीले अहिले ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड सञ्चालन गरिरहेको छ।

१२. मोदी जलविद्युत् कम्पनी लिमिटेड
४२ मेगावाटको माथिल्लो मोदी ए र १९.८ मेगावाटको माथिल्लो मोदी बी जलविद्युत् आयोजना निर्माण गर्न यो कम्पनी स्थापना गरिएको छ।
अन्तर्राष्ट्रिय परामर्शदाताले दुवै आयोजनाको संशोधित सम्भाव्यता अध्ययन प्रतिवेदनका साथै विस्तृत आयोजना प्रतिवेदन तथा ई.पी.सी. ढाँचामा आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रो–मेकानिकल र प्रसारण लाइनको बोलपत्र दस्तावेज तयार पारेको छ। हाल निर्माणस्थलमा क्याम्प र पहुँचमार्ग निर्माणको काम सुुरु भएको छ। चालु आर्थिक वर्षभित्र डिजाइन पुनरवलोकनको साथै निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ।

१३ उत्तरगंगा पावर कम्पनी लिमिटेड 
उत्तरगंगा जलाशययुक्त आयोजना अध्ययन तथा निर्माण गर्न यो कम्पनी स्थापना गरिएको हो। पहिलो र दोस्रो विद्युतगृहको जडित क्षमता क्रमशः ४१७ मेगावाट र ४०४ मेगावाट रहनेछ। सञ्चालनका क्रममा एकपछि अर्को विद्युतगृह सञ्चालन गर्नेगरी यसको अवधारणा बनाइएको छ। आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र दस्तावेज तयार पार्ने कार्यको लागि इरानको महाघोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीलाई छनोट गरेको छ।​

निजी क्षेत्रको सहभागिता
ऊर्जा क्षेत्रको विकास तथा विद्युत् आपूर्ति व्यवस्थापनमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। निजी क्षेत्रबाट उत्पादित विद्युत् ऊर्जा प्राधिकरणले विद्युत् खरिद सम्झौता गरी खरिद गर्ने गरेको छ। रन अफ रिभर, पिकिङ रन अफ रिभर तथा जलाशययुक्त गरी यी तीन प्रकारका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् ऊर्जाको दररेट निर्धारण गरिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रबाट ११९.०७७ मेगावाट बराबरका ११ नयाँ आयोजनाको निर्माण सम्पन्न गरेको छ। योसहित निजी क्षेत्रबाट प्रवद्र्घित ८१४.६५ मेगावाट बराबरका १०८ आयोजना सञ्चालनमा आएका छन्। यसैगरी निजी क्षेत्रबाट प्रवरद्धित ३५०६.८० मेगावाट बराबरका १३८ आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने १८५१.३० मेगावाटका ९९ आयोजनाहरू विकासका विभिन्न चरणमा रहेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा १८३.६९९ मेगावाटका ५ आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। हालसम्म प्राधिकरणले निजी क्षेत्रसँग कूल ६१७२.७५ मेगावाट बराबरको ३४५ आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता गरेको छ।

अन्तरदेशीय विद्युत् व्यापार
प्राधिकरणले पहिलोपटक भारतको दैनिक खुला विद्युत् बजारमा सहभागिता जनाएको छ। नेपाल–भारतबीचको पहिलो ४०० के.भी. ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० के.भी.मा चार्ज भएपश्चात् भारतीय इनर्जी एक्स्चेन्जमार्फत विद्युत् आयात निर्यात गर्न मार्गप्रशस्त भएको छ।

न्यु बुटवल–गोरखपुर ४०० के.भी. दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा कार्यान्वयनको मोडालिटी सम्बन्धमा अक्टोबर २०१९ मा नेपाल र भारतबीच सहमति भइसकेको छ। न्यु दुहबी–पूर्णिया र लम्की–बरेली ४०० के.भी.अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनसहित भारतसँग सीमा जोडिएका अन्य विभिन्न बिन्दुबाट २८०६ गिगावाट घन्टा विद्युत् आयात गरेको छ भने नेपालले कूल ४४ गिगावाट घन्टा विद्युत् निर्यात गरेको छ। 

त्यसैगरी सरकारको नीति तथा योजनाअनुसार विद्युत् क्षेत्रमा नेपाल–चीन सहयोग कार्यक्रमअन्तर्गत रातमाटे–रसुवागढी–केरुङ ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत अध्ययन तथा डिजाइन कार्य भइरहेको छ।​ 

भावी कार्यदिशा
आफ्ना उपभोक्ताहरूलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु नै प्राधिकरणको मूल उद्देश्य रहेको छ। स्वदेशमा उत्पादित विद्युत्, भारतबाट आयात गरिएको विद्युत्, माग व्यवस्थापनलगायतका क्रियाकलापहरूबाट उपलब्ध स्रोतहरूलाई एकीकृत रूपमा परिचालन गरी लोडसेडिङ अन्त्य गर्न सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणप्रति आम जनमानसको विश्वास बढेको छ। यसबाट विद्युतमा आत्मनिर्भर बन्ने दीर्घकालीन लक्ष्य प्राप्त गर्न हामीलाई हौसला प्राप्त भएको छ।

कोभिड–१९ माहामारीको कारण संस्थाको दैनिक काम कारबाही तथा आयोजनाको निर्माण कार्यहरू प्रभावित हुँदा आगामी दिनमा केही चुनौतीहरू पनि देखिएको छ।
नेपाल विद्युत् प्राधिकरण ऐन अनुकूल हुनेगरी एवम् प्राधिकरणसँग सरोकार राख्ने संघ संस्थाहरू र कर्मचारीहरूसँगको वार्ता तथा सहमतिमा सबै सरोकारवाला तथा कर्मचारी वर्गले अपनत्व लिनेगरी एवम् कर्मचारीहरूको सेवा, सुविधा, पेन्सन, उपदान आदिको समेत सुनिश्चितता हुनेगरी पुन:संरचना गरिनेछ।

विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापन स्वचालित प्रणालीबाट गरी सञ्चालन लागत घटाई हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिनेछ। प्राधिकरणभित्रको हरेक गतिविधिलाई डिजिटल प्रविधिको प्रयोग गर्ने हाम्रो यात्राले कार्य क्षमता र पारदर्शिता, चुस्त सेवा प्रवाह र लागत कटौतीको दृष्टिकोणबाट सेवाग्राहीको सरोकारलाई समेत सम्बोधन गर्ने विश्वास लिएका छौं।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत विभिन्न आयोजनाहरूबाट उत्पादित विद्युत् बिक्रीको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ। उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तरदेशीय बजारमा बिक्री गर्न बजारको अध्ययन विश्लेषण गरी उपयुक्त कदम चालिनेछ। 

स्वदेशमै विद्युत् खपत वृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभई देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले विद्युत् खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महसुुलमा पुनरवलोकन, विद्युतीय सवारीसाधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरूप जनचेतना अभिवृद्धि गर्नेसमेतका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। विद्युत् माग र खपत वृद्धिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोले सो कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइनेछ।

नेपाल र भारतमा विद्युत् आदानप्रदान गर्नका लागि थप प्रसारण लाइनहरू चरणबद्ध रूपमा निर्माण गरिनेछ। दातृ निकायहरू विश्व बैंक (WB), एसियाली विकास बैंक (ADB), युरोपियन इन्भेस्टमेन्ट बैंक (EIB), जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग निकाय (JICA), नर्बे सरकारको सहयोग निकाय (Norad) र जर्मन सरकारको सहयोग नियोग (KFW) को सहयोगमा प्राधिकरणले प्रसारण लाइनको मेरुदण्डको रूपमा रहने विभिन्न ४०० के.भी. लाइनहरूको अध्ययन तथा निर्माण गरिरहेकोले ती कार्यलाई यथाशीघ्र सम्पन्न गरिनेछ। बुटवल–गोरखपुर ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड, भारतबीच सहमति भएअनुरूप यथाशीघ्र लाइन निर्माण गर्न आवश्यक प्रक्रिया अघि बढाइने छ। 
रातमाटे (नेपाल) – केरुङ (चाइना) ४०० के.भी. प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्पन्न भई विस्तृत डिजाइनलगायत अध्ययन कार्य तदारुकताका साथ सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइने छ। 

क्षेत्रीय, उपक्षेत्रीय तथा छिमेकी राष्ट्रहरूसँग विद्युत् खरिद बिक्री सम्झौताका माध्यमबाट विद्युत् व्यापार गर्ने दीर्घकालीन लक्ष्यअनुरूप पूर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

प्राधिकरणको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि समग्र काम कारबाहीहरू एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले जारी गरिएको संस्थागत विकास योजना (Corporate Development Plan) प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट जारी श्वेतपत्र–२०७५ मा ऊर्जा क्षेत्रको आगामी दसकको मार्गचित्र स्पष्ट कोरिएकोले यसलाई मूल दस्तावेज मानी प्राधिकरणको भावी क्रियाकलापहरू अगाडि बढाइनेछ। श्वेतपत्रमा उल्लेखित मिश्रित ऊर्जा प्रणालीको विकासको लागि प्राधिकरण, यसका सहायक कम्पनी तथा निजी क्षेत्रका प्रवद्र्घकहरूमार्फत विभिन्न किसिमको विद्युत् आयोजनाहरूको निर्माण गरिनेछ। मिश्रित ऊर्जा प्रणालीबाट विद्युत् प्रणाली सञ्चालन गर्दा तथा दैनिक र मौसमी विद्युतको माग व्यवस्थापन गर्न सहज हुनेछ।

प्राधिकरणमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न परिस्थिति अनुकूल हुनासाथ स्वदेश तथा विदेशमा आवश्यक तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। 

९९.८ मेगावाटको तामाकोसी पाचौं जलविद्युत् आयोजनाको निर्माण गर्न चालु आ.व.भित्र बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरिनेछ। ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गरी बाँध निर्माणको लागि बोलपत्र आह्वान गर्ने कार्य चालु आ.व.भित्रमा सम्पन्न गरिनेछ। २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण गर्न चालु आ.व. भित्र वित्तीय व्यवस्थापन गरी बोलपत्र आह्वान गरिनेछ। १०६० मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सन् २०२३ भित्र निर्माण सुरु गर्नेगरी आवश्यक तयारी तथा वित्तीय व्यवस्थापन गरिनेछ। 

देशका विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी सहर उज्यालो राख्न स्वचालित सडक बत्तीहरू जडान गर्ने कार्यलाई देशव्यापी रूपमा अगाडि बढाइनेछ। नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीमा रहेका अप्टिकल फाइबरको व्यावसायिक उपयोग गर्ने गरी आवश्यक व्यवस्था गरिनेछ। 

सहरी सौन्दर्यतालाई कायम राख्दै वितरण प्रणालीलाई आधुनिकीकरण गर्न काठमाडौं उपत्यका, पोखरा, भरतपुरलगायत मुलुकका प्रमुख सहरहरूमा भूमिगत वितरण लाइन निर्माण गरिनेछ। भूमिगत वितरण लाइन निर्माणपश्चात् मौजुदा विद्युतीय पोल तथा तारहरू हटाइनेछ। यस किसिमको आधुनिकीकरणका कार्यबाट वितरण प्रणाली सुदृढ भई वितरण क्षमतासमेत अभिवृद्घि हुनेछ।

रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रमा पाइलट प्रोजेक्टको रूपमा सुरु भएको स्मार्ट मिटर जडान कार्यलाई चालु आ.व.मा काठमाडौं उपत्यकालगायत उपत्यका बाहिरसमेत विस्तार गरिनेछ। 

सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताहरूलाई उत्कृष्ट रूपमा सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयासहरू केन्द्रित गरिनेछ।

आभार
नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट दिशानिर्देश गरी सफल संस्थाको रूपमा विकास गर्न गतिशील एवम् सक्रिय नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष माननीय श्री पम्फा भुसालज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

प्राधिकरणलाई सफल संस्थाको रूपमा विकास गर्न सक्रिय नेतृत्व प्रदान गर्नुहुने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूहरूप्रति विशेष आभार व्यक्त गर्दछु।

प्राधिकरणलाई निरन्तर मार्गनिर्देश गरी तोकिएका लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री देवेन्द्र कार्कीेज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।

प्राधिकरणलाई सफलताको लागि हरेक कार्यमा उल्लेख्य सहयोग प्रदान गर्नु हुने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिवज्यूप्रति आभार व्यक्त गर्दछु।

संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि गरी समयसापेक्ष नीतिगत निर्णय गर्न र प्रभावकारी रूपमा सेवा सञ्चालन गर्नसमेत अमूल्य सहयोग र सुझाव प्रदान गरी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्राधिकरण सञ्चालक समितिका सबै पदाधिकारीज्यूहरूप्रति आभार व्यक्त गर्दछु।  

ऊर्जा क्षेत्रको विकासका लागि संरक्षकत्व प्रदान गर्दै निरन्तर रूपमा आवश्यक सहयोग र समन्वय प्रदान गर्ने नेपाल सरकार, प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयहरू एवम् सम्बद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

हाम्रा नियमित काम कारबाहीहरूलाई अनुगमन, पुनरवलोकन र समर्थन गरी सहयोग गर्नुहुने संसदीय समिति, संवैधानिक निकाय र विद्युत् नियमन आयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।  

प्राधिकरणको क्षमता अभिवृद्धि र संस्थाबाट सञ्चालित विकास निर्माणमा निरन्तर सहयोग पुर्याउनुहुने सबै दातृ निकायहरूलाई धन्यवाद दिन चाहन्छु।

प्राधिकरणका विभिन्न काम कारबाहीहरूमा संलग्न भई सहयोग गर्नुहुने महालेखा परीक्षक, स्थानीय तह, सार्वजनिक निकायहरू, बैंक तथा वित्तीय संस्था, प्रवर्द्धक, परामर्शदाता, निर्माण व्यवसायी तथा आपूर्तिकर्तासमेतलाई धन्यवाद दिन चाहन्छु।

माथिल्लो तामाकोसी, चिलिमे र यसका सहायक कम्पनीहरूलगायतका प्राधिकरणका सहायक कम्पनीहरूबाट प्रवद्र्धित आयोजनाहरूमा लगानी गरी देशको जलविद्युत् विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानलाई विशेष धन्यवाद दिन चाहन्छु।

प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको लागि ऋण तथा अनुदान सहयोग गर्नुहुने विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, जाइका, केएफडब्ल्यू, नोराड, इन्डियन एक्जिम बैंक, चाइनिज एक्जिम बैंकलगायतका दातृ निकायहरूलार्ई विशेष धन्यवाद दिन चाहन्छु।

प्राधिकरणका नियमित काम कारबाहीहरूको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्याउनुहुने सञ्चारगृह तथा पत्रकार मित्रहरूमा धन्यवाद दिन चाहन्छु।

कठिन परिस्थितीमा समेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तर रूपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्न व्यावसायिक संस्थाहरूप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।

कोभिड–१९ संक्रमणको जोखिमलगायत जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरूमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित सम्पूर्ण कर्मचारीहरू एवम् आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनलाई धन्यवाद दिन चाहन्छु।

अन्त्यमा, नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दै सबैको निरन्तर सहयोग र समर्थनबाट प्राधिकरणले नेपालको ऊर्जा विकासका साथै समृद्ध नेपाल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछु। धन्यवाद!
–कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत् प्राधिकरण

सभार-नेपाल खबरबाट