हेटौंडा–स्थानीय तहको निर्वाचन आउन १ हप्तामात्र बाँकी रहँदा हेटौंडा–९ मा नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १९ गतेबाट सुरु भएको घरदैलो कार्यक्रम ५ दिनमा सम्पन्न भएको हो ।

घरदैलो कार्यक्रम समापनपछि आज बैशाख २४ गते शनिबार एमालेले वडास्तरीय सभा आयोजना गर्ने भएको छ । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेर र उपमेयर उम्मेद्वारसहित केन्द्रीय नेताहरुको समेत सम्बोधन रहने गरी सभा गर्न लागिएको नेकपा एमाले हेटौंडा–९ अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिए । ५ दिनको प्रचार कार्यक्रममा उम्मेद्वारसहित प्रचारमा सहभागी सबैजना हिँडेर नै सम्पूर्ण वडाबासीका घरघरमा पुगेर प्रचार गरिएको वडा अध्यक्ष उम्मेद्वार लक्ष्मणप्रसाद भण्डारीले बताए ।

एमालेको गढका रुपमा रहेको हेटौंडा–९ मा एमालेको चुनाव प्रचारमा वडाबासीको उत्साहजनक उपस्थिति रहेको उनले बताए । दोस्रो कार्यकालको लागि पुनः उम्मेद्वारी दिएका भण्डारीले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धीलाई दोब्बर मतले पराजित गरेको स्मरण गर्दै यस पटक नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एमालेविरुद्ध वडामा संयुक्त गठबन्धन गरेर आए पनि गठबन्धनको चुनौतीलाई आफू तथा एमालेका उम्मेद्वारले सहजरुपमा लिएको बताए । आफू वडा अध्यक्षका रुपमा रहेर ५ वर्षमा गरेका विकास निर्माणका कामबाट सम्पूर्ण वडाबासी सन्तुष्ट रहेकाले जति दल मिलेर आए पनि वडाबासीले एमालेलाई नै मत दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

वडाबासीकै अनुरोधमा आफू फेरि वडा अध्यक्ष उम्मेद्वार भएको बताउँदै भण्डारीले अन्य दलका केही व्यक्ति समाजमा अनेकौं भ्रम छर्न प्रयासरत् रहे पनि सफल नहुने बताए । गठबन्धनका उम्मेद्वारहरु हालदेखि नै पराजित मानसिकतासाथ रहेको उनले दाबी गरे ।

पछिल्लो समय हेटौंडा–९ मा निर्माणधीन दिव्य बालउद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोडको घटनापछि वडाकै प्रगति माविको नाम राखेर फेसबुकबाट गठबन्धनका उम्मेद्वारलाई भोट माग्ने तथा एमालेविरुद्ध स्टाटस राख्दै जनतामा भ्रम छर्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।

फेसबुकबाट प्रगति माविको नाम परिवर्तन गर्ने, विद्यालयमा मदन भण्डारीको शालिक बनाउने जस्ता कुराहरुको खण्डन गर्दै वडा अध्यक्ष उम्मेद्वार भण्डारीले यस्ता गतिविधिले गठबन्धनको पराजित मानसिकता प्रष्ट देखिएको दाबी गरे । विद्यालयको नाम प्रयोग गरेर गलत सूचना छर्ने कार्यप्रति उनले भत्र्सना गरे । यस्ता गलत सूचनाको पछि नलाग्न पनि उनले सम्पूर्ण वडाबासीलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here