टिकट वितरणमा केही कमजोरी पक्कै हो

0
452

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल परिवार दललगायतका दलहरुसँग तालमेल गरेको थियो भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन एमालेको विपक्षमा थियो । यद्यपि, यो गठबन्धन सबै स्थानमा लागु भएको थिएन ।

मकवानपुरका सन्दर्भमा २०७४ को स्थानीय निर्वाचनमा ६ वटा पालिकामा नेतृत्व गरेको एमाले हाल २ वटामा मात्र सीमित भएको छ भने कांग्रेसले ५ वटा पालिकामा आफ्नो नेतृत्व स्थापित गराएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले २ वटा पालिका जितेको थियो । माओवादी केन्द्रले पनि गठबन्धनको बलमा ठूलो उपलब्धि हासिल गरेको छ । २ वटा प्रमुख र ५ पालिकामा उपप्रमुख जित्न माओवादी केन्द्र सफल भएको छ । एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिएको छ ।

अब राजनीतिक दलहरुको चासो जिल्ला समन्वय समितितर्फ केन्द्रित भएको छ । जेठ महिनाभित्र जिससको निर्वाचन हुँदैछ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि नजिकिँदो छ । स्थानीय निर्वाचनको समीक्षा, जिससको निर्वाचनका लागि दलहरुको तयारी, गठबन्धन निरन्तरता, प्रदेशसभा र प्रतिनिधिसभाका लागि तयारीलगायत विषयमा सत्तारुढ गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका मकवानपुर सभापति बुद्ध लामासँग गरिएको कुराकानीको सम्पादित अंशः
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । गठबन्धनको सबभन्दा ठूलो दलको सभापति भएको नाताले समग्रमा मकवानपुरको निर्वाचनलाई कसरी समीक्षा गर्नुभएको छ ?

हामीले स्थानीय तहको निर्वाचनलाई दलगत्रुपमा वा गठबन्धनको तर्फबाट समीक्षा गर्न भने बाँकी नै छ । तर, मैले व्यक्तिगत्रुपमा भन्नुपर्दा गठबन्धनको जुन उघेश्य थियो, हामी त्यसको नजिक पुगेका छौं । गठबन्धनले चाहेको जस्तो ठ्याक्कै सफलता प्राप्त नभएको भए पनि हामी सन्तुष्ट छौं । मेरो विचारमा गठबन्धन सफल भएको छ ।

तानाशाह प्रवृत्ति जन्मने जुन खतरा थियो, त्यसलाई गठबन्धनले रोक्न सफल भयो भन्ने मेरोे निष्कर्ष छ । लोकतन्त्रलाई बचाउने आधार तय भएको छ र लोकतान्त्रिक पार्टीहरुको विचारलाई यसले स्थापित गराएको छ । नेपाली जनता गठबन्धनप्रति अत्यन्त आशावादी छन् । यो प्रमाणित भइसकेको छ ।
गठबन्धन गर्दा पनि मकवानपुरको २ वटा पालिकाको नेतृत्व यहाँहरुले गुमाउनुभयो । निर्वाचनमा गठबन्धनका दलहरु गठबन्धनप्रति नै प्रतिवद्ध नभएका हुन् ?

गठबन्धनका केही कमीकमजोरी हामीले पायौं । केही आन्तरिक समस्या पनि भएकै हो । त्यसकारण मकवानपुरको २ वटा पालिकाको नेतृत्व हामीले गुमाउनुप¥यो । त्यसमा केही प्राविधिक, केही राजनीतिक र केही मतदाता शिक्षाको पनि कुरा छ । उम्मेद्वारहरुकै कारण वा व्यवहारिक कारण भनौं २ पालिका गुमाउनुप¥यो । नत्र अन्य पालिकामा राम्रो नतिजा आएको छ । त्यहाँ पनि राम्रो गर्छौं भन्ने ठूलो अपेक्षा थियो । तर, यस पटक उम्किन सकिएन ।
मकवानपुरका ५ पालिकामा प्रमुख, ४ उपप्रमुख र १ सय २ वडामध्ये झण्डै आधा वडामा कांग्रेसले नेतृत्व लिएको छ । यो नतिजाप्रति तपाईंहरु कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यसलाई हामीले सन्तोषजनक नै मानेका छौं । निर्वाचनमा ठ्याक्कै सोचेजस्तै उपलब्धि त कहीं पनि हुँदैन । हामीले गठबन्धनको भावनालाई अझै मजबुद बनाउन सकेको भए अझै बढी सफलता हासिल गर्न सक्थ्यौं भन्ने चाँही हो । र, त्यहाँ केही कुराहरु गठबन्धनभित्र समन्वय, सहमति हुन नसकेका कुराहरु पनि छन् । वडादेखि पालिकाको नेतृत्वसम्म अझै राम्रो गर्न सक्ने आधार थियो । जे होस्, यसलाई पनि हामीले ठूलो उपलब्धि ठानेका छौं । गठबन्धन र नेपाली जनताको कारण नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । जनताको विश्वास जागेर आएको छ ।
यहाँहरुको सबै पालिकामा गठबन्धन हुन सकेन । इन्द्रसरोवर, कैलाश, मनहरीलगायत पालिकामा कांग्रेस र एकीकृत समाजवादीको छुट्टाछुट्टै उम्मेद्वार हुनुहुन्थ्यो । हेटौंडाको सन्दर्भमा प्रमुखमा गठबन्धनका उम्मेद्वारलाई उल्लेख्य मत आएन भन्ने पनि छ नि ?

तपाईंले भनेजस्तै केही पालिकामा गठबन्धनमा भएका सहमतिलाई कार्यान्वयन गराउन नसक्दा त्यहाँ समस्या आएको हो । साथीहरुमा असन्तुष्टि भएका कारण पनि उम्मेद्वारी दर्ता गराएको देखिन्छ । हामीले सकेसम्म फिर्ता गराउने प्रयास ग¥यौं । मनहरी र कैलाशमा हामीले हाम्रो पक्षमा नतिजा ल्याउन सफल भयौं भने इन्द्रसरोवरमा चाँही हामीले अध्यक्ष र उपाध्यक्ष दुवै गुमाउनुप¥यो ।

अब गठबन्धनका उम्मेद्वार भन्दा बाहेक उम्मेद्वारलाई धेरै मत आएको छ भन्ने जिज्ञासा राख्नुभयो, हेटौंडाको सन्दर्भमा बजार क्षेत्रमा स्वभाविकरुपमा अलि स्वतन्त्र मतदाता पनि हुन्छन् । उम्मेद्वारको राजनीतिक पृष्ठभूमि, योगदान सबै मूल्यांकन हुन्छ । हामीले सक्दो प्रयास ग¥यौं । गठबन्धनको भावनाअनुसार अघि बढ्यौं । अन्तमा जित हाम्रै भयो ।

गठबन्धनको तालमेल वडासम्म मिलाउन नसकेको कारण पनि विपक्षीले खेल्ने ठाउँ रह्यो । त्यसकारण हेटौंडामा प्रमुख पदमा केही भोट बाहिर गएको हो कि भन्ने छ । तर, जे होस् हामी विजयी भएका छौं । अब जनभावनाअनुसार काम गरेर जनताको विश्वास जित्नु जरुरी छ ।
जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन नजिकिँदै छ । गठबन्धन दलमा कांग्रेसको माग के छ ?

जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेको दाबी स्वभाविक मान्न सकिन्छ । जिल्लाका स्थानीय तहहरुमा कांग्रेस बहुमतनजिक छ । गठबन्धनमा यस विषयमा गम्भीर छलफल हुन बाँकी छ । तर, साथीहरुले के बुझ्नुप¥यो भने बजेटका हिसाबले, विकास गर्ने शैलीका हिसाबले गाउँपालिका र नगरपालिकामा केही फरक अवश्य हुन्छ ।

कांग्रेस गठबन्धनको ठूलो दल भएर पनि हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा क्रमशः नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलाई अवसर दिएका कारण अब उहाँहरुले पनि स्वभाविकरुपमा जिससमा कांग्रेसलाई अघि बढाउनुपर्ने हो । यो महत्वपूर्ण ठाउँमा दुई कम्युनिष्ट पार्टीहरुले नेतृत्व लिएकाले जिससमा कांग्रेसले प्रमुख दाबी गर्छ र पाउनुपर्छ भन्ने माग छ ।
जिससको निर्वाचनका सन्दर्भमा अन्य जिल्लाहरुमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको पाइएको छ । यहाँ पनि त्यस किसिमको तालमेलको सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ । यस विषयमा कांग्रेको बुझाइ के हो ? कांग्रेसले जिसस प्रमुखका लागि योग्य उम्मेद्वारलाई प्रक्रियागत्रुपमा खडा गर्न सकेको छैन भन्ने छ ।

अन्य जिल्लामा कसरी भयो । त्यो त्यहाँकै बस्तुस्थिति हेरेर गर्नुभयो होला । तर, मकवानपुरमा यो सम्भावना छैन । वागमती प्रदेशकै ८ वटा जिल्लामा मात्र गठबन्धन भएको छ, बाँकीमा छैन । गठबन्धन नभएको ठाउँमा माओवादी केन्द्र एमालेसँग मिल्यो होला । तर, गठबन्धन भएको ठाउँमा एमालेसँग मिल्ने कुरा सम्भव छैन ।

जिसस प्रमुखका लागि कांग्रेसमा योग्य उम्मेद्वार छन् । हाम्रा पार्टीमा लागेका सबै प्रतिनिधिलाई हामीले सक्षम ठानेका छौं । जिससको प्रमुखका लागि जति पनि योग्य प्रतिनिधि हुनुहुन्छ । तर, पार्टीले कसलाई जिम्मेवारी दिने भन्ने चाँही तय भइसकेको छैन । मौका पाएकालाई सबैले चिन्छन्, मौका नपाएका र संगठनमा काम गरिरहेकाहरु पनि हुन्छन् । योग्य उम्मेद्वार नभएको भन्ने होइन ।
स्थानीय तहमा अधिकांश गठबन्धनकै नेतृत्व आएको छ । अब एमालेलाई दोष दिने ठाउँ बाँकी रहेन । अब चाँही निर्वाचित जनप्रतिनिधिहरुले कसरी काम गर्छन् ? त्यसमा जनप्रतिनिधि र कांग्रेसबीच समन्वय कसरी हुन्छ ?

नेकपा एमालेले ५ वर्षे कार्यकालमा जनभावनाअनुसार काम नगरी भ्रममात्र फैलाएको कुरा यो निर्वाचनले प्रमाणित गरिसक्यो । अब हामीले के भन्दै आएका छौं भने एमालेले भ्रम फैलाएको र काम नगरेका कारण जनताले उनीहरुलाई सबक सिकाइसकेका छन् । हाम्रो आरोप प्रमाणित भइसकेको छ । जिल्लाका धेरै पालिकामा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । अब निर्वाचित सबैले जनताको घरदैलोमा पुगेर काम गर्नुपर्छ । स्थानीय सरकारको प्रत्याभूति गराउनुपर्छ ।

हामीले पनि एमालेले जस्तै कुरामात्र ग¥यौं भने ५ वर्षभन्दा बढी टिक्न सकिँदैन । त्यसकारण, हामीले निर्वाचित सबै जनप्रतिनिधिलाई राजनीतिक भविष्य सुनिश्चित गर्न, गठबन्धनलाई बचाउन अब पार्टीको होइन, जनताको मुख हेर्न र जनताप्रति उत्तरदायी हुन सल्लाह दिइसकेका छौं । र, निर्वाचित जनप्रतिनिधिले जनमुखी काम गर्ने, बढी भन्दा बढी सेवा दिने, नागरिकलाई कसरी सहजरुपमा सेवाप्रवाह गर्न सकिन्छ, नयाँ के गर्न सकिन्छ भन्ने सोचेर काम गर्न भनेका छौं । अब पनि पुरानै प्रवृत्तिलाई अंगाल्यौं भने जनताले नेकपा एमालेकै हालतमा पु¥याउने छन् भनेर भनेका छौं ।

नेपालको राजनीति फरकढंगले अघि बढिरहेको छ । स्वतन्त्र उम्मेद्वारहरु पनि जनतासँग प्रत्यक्ष सरोकार राखेर ठूला दलहरुलाई पराजित गरेका घटना हामीमाझ छन् । त्यसकारण, जनताको मन जितेर काम गर्दा जनता पनि खुशी हुन्छन् र राजनीतिक दल पनि सफल हुन्छन् भन्ने यो निर्वाचनले प्रमाणित गरिसकेको छ । यस विषयमा हामी निर्वाचित जनप्रतिनिधिलाई खबरदारी गरिरहन्छौं ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म मकवानपुरको सन्दर्भमा गठबन्धन हुन्छ कि हुँदैन ? गठबन्धन नहुँदा कांग्रेस एक्लैले जित्ने आधार छ कि छैन ? तयारी के हुँदैछ ?

हामीले भर्खर निरंकुशउन्मुख पार्टीलाई निर्वाचनबाट मुर्छामात्र पारेका छौं । त्यसलाई समाप्त पार्न सकेका छैनौं । अब प्रदेश र संघको निर्वाचनमा गठबन्धनले जितेपछि त्यो समाप्त हुन्छ । त्यसकारण हामी तयार छौं । गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहन्छ । तर, कति लामो समय जान्छ भन्ने चाँही मैले भन्न सक्ने कुरा होइन । मेरो भावना चाँही गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम हुनुपर्छ भन्ने हो ।

मुलुकमा एकल पार्टीले बहुमत ल्याएर स्थायी सरकार बनाउने, देशको आमूल परिवर्तन गर्ने, शान्ति र समृद्धिको प्रत्याभूति गराउने अवस्था रहेन । त्यसकारण अब गठबन्धनको संस्कार कायम राख्नुपर्ने देखिन्छ । शासन पद्धतिलाई टिकाइराख्न र लोकतन्त्रलाई बचाइराख्न गठबन्धनको संस्कार टिकाउनु जरुरी छ । एउटैमात्र दलले यो व्यवस्थालाई लामो समय टिकाउन सक्दैन ।
स्थानीय तहको निर्वाचनमा टिकट वितरणका सन्दर्भमा असन्तुष्टिहरु पनि देखिएका छन् । कांग्रेसमा विगतदेखि नै गुटउपगुट पनि मौलाउँदै गएको छ । यहाँको नेतृत्वमा पार्टीलाई कसरी अघि बढाउनुहुन्छ ?

पार्टीभित्र फरक मत हुन्छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो, मत अभिव्यक्त गर्न पाइन्छ । कुनै विषयमा हाम्रो मत फरक देखिए पनि संकटको घडीमा मिलेकै छौं । त्यो निर्वाचनले पनि पुष्टि गरेको कुरा हो । म गुटउपगुट नभइ सिंगो कांग्रेसलाई एकढिक्का बनाइ अघि बढाउन चाहन्छु । त्यसमा सबैको सहयोग आवश्यक छ ।

टिकट वितरणका सन्दर्भमा केही असन्तुष्टि पक्कै देखिएको छ । गठबन्धन मिलाउनुपर्ने जिम्मेवारीका कारण टिकट वितरणमा केही कमजोरी पक्कै भएको हो । तर, असन्तुष्ट साथीहरुलाई आगामी दिनमा अन्य अवसरबाट बञ्चित गर्ने छैनौं । सबैलाई समेटेरै लैजाने हाम्रो नीति छ । म पार्टी सभापति भएलगत्तै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएँ । मैले विगतमा धेरै पार्टी सभापतिहरुसँग काम गरेको छु । मेरो लामो अनुभवले पनि यो निर्वाचनमा काम गरेको महसुस गरेको छु । फलस्वरुप, कांग्रेस धेरै स्थानीय तहमा निर्वाचित हुन सफल भएको छ । अब पार्टीलाई संगठित र सुदृढ बनाउँदै लैजाने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here