Saturday, September 23, 2023

राज्यले नै बनाइरहेछ मिटरब्याजीले लुट्ने वातावरण

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

काठमाडौँ — राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लाहरूमा मिटरब्याजी साहुहरूलाई कारबाहीको माग गर्दै प्रदर्शनहरू चलिरहेका छन् । प्रदर्शन ती साहुहरू लक्षित छन्‚ जसले सोझा नागरिकहरूलाई आर्थिक सहायताको बहानामा चरम आर्थिक एवं मानसिक यातना दिए । यी प्रदर्शनहरूले समाजमा चलिरहेको व्यक्तिगत लेनदेन र यसले पारिरहेको भयावह अवस्थालाई सतहमा ल्याइदियो ।

कपाली तमसुक बनाएर हुने यस्ता लेनदेनका कतिपय कागजहरू स्थानीय वडा कार्यालयहरूबाट प्रमाणित समेत गरिएका उदाहरणहरू भेटिए । गाह्रोसाह्रो पर्दा गाउँ-शहरमा साहु-महाजनसँग सरसापट लिने र गर्जो टार्ने, निकै पहिलेदेखि नै चलिआएको सामाजिक व्यवहार हो । सापटी लिने र दिनेको नियत खराब नहुँदासम्म यी व्यवहारहरू सद्भावपूर्ण रहन्छन् । जब नियत खराब हुन्छ तब आउने समस्याहरू कस्ता कस्ता हदसम्मका हुने रहेछन् भन्ने उदाहरण हालैका प्रदर्शन र पीडित पक्षका बयानहरूबाट छर्लङ्ग भएको छ । पत्याउनै नसकिने पीडितहरूका बयान सुन्दा आङ नै सिरिङ्ग हुन्छ ।

बैंकिङ सेवा विकासको ठूलो डिङ पिट्ने राष्ट्र बैंक, अर्थ मन्त्रालय र अर्थसँग सरोकार राख्ने विभिन्न निकायले यी प्रदर्शन र पीडित पक्षका बयानलाई कसरी हेरिरहेका छन्‚ थाहा भएन । तर‚ नेपालको बैंकिङ क्षेत्रका लागि यो लज्जाको विषय हो । सञ्चारका विभिन्न माध्यमबाट हामी हरक्षण बैंकिङका अनेक विज्ञापन हेर्न, सुन्न र देख्न सक्छौं । यी बैंकिङ प्रवर्द्धनका विज्ञापनहरूको पहुँच कुन तह र तप्काका मानिससम्म पुगेका छन् त ? भन्न त बैंकहरू आफूलाई ‘बैंक पनि साथी पनि’को नारा दिन्छन् । बैंकिङ कारोबार डिजिटल जमानामा प्रवेश गरेको दाबी गर्छन् । घर बसी बसी खाता खोल्न सकिने गफ दिन्छन् । तर‚ यी पीडित नागरिकहरूसम्म बैंकहरू पुग्न नसक्नुलाई बैंकिङ क्षेत्रको लज्जा भन्दा फरक पर्ला र ! किन पुगेनन् बैंकहरू यी र यस्तै आर्थिक अभावमा रहेका नागरिकसम्म ? किन यिनीहरू गर्जो टार्न साहु महाजनकहाँ मात्रै धाइरहे ? आफ्नै जग्गा धितो राखेर साहुकहाँ जानुको सट्टा किन बैंकको ढोकासम्म पुगेनन् यिनीहरू ? यस विषयमा वित्तीय क्षेत्रका विज्ञहरूले शोध गर्ने बेला आएको छ ।

राष्ट्र बैंकको तथ्यांक (२०२२) भन्छ- नेपालमा अहिले २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ६५ लघुवित्त संस्थाहरू रहेका छन् । टोल-टोलमा छरिएर रहेका सहकारीहरूको संख्या झन्डै ३० हजार पुगिसकेको छ (सहकारी झलक, २०७७) । पछिल्ला तथ्यांक केलाउने हो भने, आजभन्दा २० वर्षअघि नेपालमा मात्र एक दर्जन वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४७ फाइनान्स कम्पनीहरू थिए । बैंकिङ क्षेत्रको विकाससँगै दश वर्षको अवधिमा बैंकहरूको संख्या बढेर ३२ पुग्यो । विकास बैंकहरू ८८ पुगे भने फाइनान्स कम्पनीहरू ७९ । लघुवित्तको संख्या ७ बाट १८ पुग्यो । वित्तीय क्षेत्रमा भएको यो अस्वाभाविक वृद्धिलाई रोक्न राष्ट्र बैंकले कडा नीति अवलम्बन गर्न थालेपछि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीको संख्या घटेर हालको अवस्थामा आइपुगेको हो ।

स-साना वित्तीय कारोबारका लागि खुलेका लघुवित्तहरूको संख्या बीस वर्षको अवधिमा ७ बाट बढेर ६५ पुगेको छ । ठूला-ठूला लगानीका लागि खुलेका वाणिज्य बैंकहरूदेखि स-साना लगानी र बचतका लागि खुलेका सहकारी र लघुवित्तहरूको संख्यामा भएको यो वृद्धिलाई हेर्दा साना-ठूला कुनै पनि प्रकारका लगानीका लागि नागरिकलाई अप्ठ्यारो नपर्नुपर्ने हो । तर‚ सामाजिक परिवेशको वास्तविकता र बैंकिङ क्षेत्रको पहुँचबीच फरक साहु महाजनहरूबाट पीडितहरूले विभिन्न ठाउँमा गरिरहेको प्रदर्शन र विरोधका कार्यक्रमहरूले प्रस्ट्याएको छ । गर्जो टार्न अझै पनि साहुमहाजनको दैलो चहार्ने सामाजिक व्यवहारलाई शहरदेखि गाउँसम्म छरिएर रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्तदेखि सहकारीसम्मले चिर्न नसक्नुलाई यी क्षेत्रको असफलता नै मान्नु पर्दछ ।

मौद्रिक नीति २०७९/८० अनुसार वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम १२ प्रतिशत, २०८० असार मसान्तसम्म १३ प्रतिशत, २०८१ असार मसान्तसम्म १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैत मसान्तसम्ममा कृषि क्षेत्रमा औसतमा १२.२८ प्रतिशत कर्जा प्रवाह भएको छ ।

त्यस्तै वाणिज्य बैंकले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०८० असार मसान्तसम्म ७ प्रतिशत, २०८१ असार मसान्तसम्म ८ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकको तथ्यांकले २०७८ चैत मसान्तसम्ममा उक्त क्षेत्रमा औसतमा ५.५१ प्रतिशत कर्जा प्रवाह भएको जनाएको छ ।

त्यस्तै वाणिज्य बैंकले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०८० असार मसान्तसम्म १२ प्रतिशत, २०८१ असार मसान्तसम्म १३ प्रतिशत र २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा, १ करोड रुपैयाँभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत, प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । तथ्यांकअनुसार २०७८ चैत मसान्तमा उक्त क्षेत्रमा औसतमा ९.८५ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

विकास बैंकहरूले पनि २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १७ प्रतिशत, २०८० असार मसान्तसम्म १९ प्रतिशत र २०८१ असार मसान्तसम्ममा २० प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७८ चैतमा उक्त क्षेत्रहरूमा औसतमा २६.६२ प्रतिशत कर्जा प्रवाह भएको छ । यसैगरी, वित्त कम्पनीहरूले २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७८ चैतमा उक्त क्षेत्रहरूमा औसतमा २१.९२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकले मौद्रिक नीतिले तोके अनुसार बैंकहरूले कृषि, ऊर्जा, पर्यटन, लघु, घरेलु तथा साना उद्यम व्यवसाय क्षेत्रमा गर्नुपर्ने लगानी पुग-नपुग प्रवाह गरेको देखिएको छ । तर ति लगानी कहाँ गरिए त ? के वास्तविक कृषक, लघु तथा घरेलु उद्यमीसम्म ती लगानी पुगेकै हुन् त ? कि कृषक, साना तथा घरेलु र लघु उद्यमीको नाममा ती कर्जा ठूला व्यापारीले कुम्ल्याए ? प्रश्नको उत्तर पाउन सजिलो छैन ।

नेपाल कृषिप्रधान देश हो । केन्द्रीय तथ्यांक विभागले गरेको कृषि जनगणना २०११ अनुसार नेपालमा ३८ लाख ३१ हजार ९३ कृषि घरपरिवार रहेका छन् । कुल कृषि घरपरिवारमध्ये २१.८२ प्रतिशत परिवारले मात्रै कृषि कर्जा लिएर खेतीपाती गरिरहेको कृषि जनगणनाले देखाएको छ । कर्जा लिने परिवारमध्ये मात्र ८.६८ प्रतिशत कृषकले वाणिज्य बैंकबाट कर्जा लिएको देखिन्छ । अधिकतर कृषक परिवार, ३४.५७ प्रतिशतले खेतीपातीका लागि चाहिने कर्जा बैंकबाट नलिएर आफन्तबाट लिने गरेको गणनाको तथ्यांकले देखाउँदछ । त्यस्तै १५.६८ प्रतिशत कृषक परिवारले बचत तथा ऋण सहकारी बाट र १२.६१ प्रतिशतले कृषि विकास बैंकबाट कर्जा लिएको देखिन्छ ।

प्रदेशहरूको तथ्यांक केलाउँदा प्रदेशहरूमध्ये कृषिका लागि नजिकका आफन्तहरूबाट कर्जा लिनेको संख्या कर्णाली प्रदेशमा सबैभन्दा अधिक रहेको छ । यहाँका ४२.९२ प्रतिशत कृषक परिवारले नजिकका आफन्तबाट कर्जा लिएर कृषि कर्म गर्दै आएको जनगणनाको तथ्यांकले देखाउँछ । त्यस्तै आफन्तहरूबाट सापटी लिएर कृषि कार्य गर्नेहरूमा मधेश प्रदेश कर्णालीपछि दोस्रोमा रहेको छ । प्रदेशका ३९.१२ प्रतिशत कृषक परिवारले आफन्तबाट कर्जा लिने गरेको देखिन्छ । त्यस्तै सुदूरपश्चिम (३६.४८ प्रतिशत), गण्डकी (३३.२२ प्रतिशत), लुम्बिनी (३२.४५ प्रतिशत), वाग्मती (३१ प्रतिशत) र प्रदेश १ (२९.७१ प्रतिशत) । केन्द्रीय तथ्यांक विभागले सन् २०१९ मा चितवन जिल्लामा गरेको एकीकृत नमुना कृषि सर्वेक्षणमा ९ प्रतिशत कृषक परिवारले मात्रै कृषि कर्जा लिएको देखिएको छ । कृषि व्यवसायमा नाम कमाउन थालेको जिल्ला चितवनका कृषक नै बैंकिङ च्यानलभित्र नपर्नुलाई राम्रो सन्देशका रुपमा लिन मिल्दैन ।

कृषिमा हुने लगानीले उत्पादकत्व र खाद्य सुरक्षामा सिधै असर गर्दछ । कृषिमा जति धेरै लगानी गर्न सकियो उत्पादकत्व पनि सोहीअनुसार वृद्धि हुन्छ । उत्पादकत्व राम्रो हुनु भनेको कृषक परिवारको जीवनस्तरमा सुधार आउनु हो । नेपाल कृषि प्रधान देश भएर पनि यहाँ खाद्य असुरक्षा रहेको तथ्यांकहरूले देखाउँदछ । खाद्य असुरक्षा देखिनु कृषिमा लगानी नपुग्नु हो भन्दा अत्युक्ति नहोला । नेपालमा खाद्य असुरक्षा कर्णाली प्रदेश (७४.७१ प्रतिशत ) पछि गण्डकी प्रदेशमा (६७.८० प्रतिशत) अधिक रहेको देखिएको छ । त्यसो त सबै प्रदेशका कृषकहरूले आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने जनगणनाका दौरान बताएका छन् ।

नेपालको अर्थतन्त्रमा कृषिको भूमिका महत्त्वपूर्ण रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा अझै पनि कृषिको भूमिका सबैभन्दा धेरै हुनुले पनि कृषि नेपालको अर्थतन्त्रको मियो हो भन्नैपर्छ । तर पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको भूमिका घट्दै गएको छ । अर्थतन्त्रमा कृषिको भूमिका घट्नु अर्थात् कृषिमा लगानी नपुग्नु हो । कृषिमा लगानी नपुग्नु अर्थात् खाद्य असुरक्षा बढ्नु । एकातिर कृषिमा राज्यको लगानी पुगेको छैन भने अर्कोतर्फ कृषिमा आश्रित घरपरिवार कृषि कर्जाका लागि आफन्त र साहु-महाजनका भर परिरहेका छन् ।

उल्लेखित तथ्यांकले अधिकांश नागरिक कृषिमा आश्रित हाम्रो अर्थतन्त्रमा जब कृषक परिवार बैंकलगायत आधिकारिक संस्थासम्म कृषि लगानी लिनका लागि पुग्दैनन् र आफन्तका भर पर्दछन् भने देशको विकास कसरी हुन सक्छ ? भन्दा आफन्त भनिए पनि गर्जो टार्न गाउँ-समाजमा हात पसार्ने भनेका साहु-महाजनहरूकहाँ नै हो । राज्य अघि नसरेपछि फाइदा लिने भनेका यी साहु-महाजनले नै त हो । मिटरब्याजी साहुमहाजनलाई लुट्ने वातावरण बनाउने राज्य नै भएकाले पीडितहरूका माग सम्बोधन गर्ने जिम्मा पनि राज्यकै हो । दश वर्षअघिको तथ्यांकले देखाएको कृषि क्षेत्रको वास्तविकतामा कति परिवर्तन आएको छ त ? कृषि जनगणना २०८० ले यसमा पक्कै प्रकाश पार्नेछ ।

सभार-कान्तिपुरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...