मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धी समस्या समाधान गर्न संघीय र स्थानीय सरकारसित सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । सोमबार जनकपुरधाममा आयोजित पोषण सम्बन्धी राउण्डटेबल छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मधेश प्रदेशमा पोषण ठूलो समस्याको रुपमा देखिएकोले यसको समाधानको लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो । पोषण सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकार गंभिर छ, उहाँले भन्नुभयो–यसको लागि हरसम्भव प्रयासको लागि प्रतिबद्ध छ । प्रदेशमा पोषणको स्थिति सुधार कार्यमा सघाउने संघसंस्थासित पनि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । बहुक्षेत्रीय पोषण कार्यक्रम संचालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी मुख्यमन्त्री यादवले गराउनुभयो । प्रदेशवासीको मौलिक हकको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै यसमा सबैलाई सहयोगको लागि पनि आग्रह गर्नुभयो ।