प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले यौन दुराचार प्रकरणमा मुछिका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी एक नेकपा नेताले भने, ‘सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निर्णय गरेको छ।’

सभामुख महराले संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुराचार गरेको आरोप लागेपछि त्यसबारेमा छलफल गर्न मंगलबार बिहान सचिवालय बैठक बोलाइएको हो। बैठकबस्नुभन्दा अगाडि नै नेकपा हाइकमान्डको बैठक बसेको थियो।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेलसहितका नेता सहभागी थिए।