रौतहट । जिल्लामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । जनगणनाका लागि रौतहट जिल्ला जनगणना कार्यालयले सरोकारवालाहरुसँग जिल्लास्तरीय सचेतना गोष्ठी गरेको छ।

रौतहटको जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला जनगणना अधिकारी देवनाथ यादवले यसपटक मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ हुन लागेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला जनगणना अधिकारी यादवले जनगणनाको परिचय, उद्देश्य, महत्व तथा संक्षिप्त इतिहास, जनगणना, सञ्चालनको कानूनी प्रावधान, गणना विधि, संगठन संरचना र समन्वय संयन्त्र प्रश्नावलीसम्बन्धी विषयक्षेत्रहरु, राष्ट्रिय जनगणना २०७८ र जनगणनासम्बन्धी मुख्य दिनहरु र जनगणना कार्यालय रौतहटको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले हरेक नेपालीको घरघरसम्म पुगेर ‘मोडिफाइड डिजुरे मेथड’ विधि प्रयोग गरेर २०७८ सालको जनगणना हुने बताए । बैशाख २६ गते देखि पहिलो चरण तथा जेष्ठ २५ गते देखि अषाढ ८ सम्म दोस्रो चरणको विवरण संकलन गरिने छन् । नेपालमा पहिलो पटक जनगणना लिने कार्य वि.सं. १९६८ साल देखि शुरु भएको थियो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जनगणनाको बारेमा प्रत्येक पालिकाले बढी चासो लिनुपर्ने बताए । प्रत्येक पालिककाको लागि यो महत्वपूर्ण विषय पनि रहेको उनले बताए । गणकहरुले प्रत्येक घर धुरीको विवरण लिन घर घरमा पुग्नुपर्ने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

जनगणनाले स्थानी तहको कार्ययोजना बनाउनको लागि यसेको भुमिका महत्वपूर्ण रहेको हुँदा जनसंख्या दोहोरिन नदिनको लागि गणकहरु विशेष चनाखो हुनुपर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

कुनै पनि विकासको काम गर्नको लागि जनगणना धेरै अवश्यक रहेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताए । नागरिकलाई समृद्ध, सबल र सक्षम बनाउन यसले महत्वपूर्ण भुमिका खेलको उनको भनाइ थियो ।

कार्यक्रममा राजदेवि नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह, दुर्गा भगवती गाउँपालिका प्रमुख अरुण कुमार साह, यमुनामाइ गाउँपालिकाका प्रमुख श्रीप्रसाद मुखिया, देवाहि गोनाहि नपाका नगर प्रमुख धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना साह, जिल्ला समन्वय समितिका उपसभापति रामबसिस्ठ यादव , नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष रबिन्द्र साह, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र प्रधान, गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुर, जसपा नेता रेवन्त झा लगायत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।