रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले खडा गरेको कोरोना कोषमा दुर्गा भगवती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रद्युमन कुमार चौधरीले आफ्नो एक महिनाको सेवा सुविधा सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

सधै अरुका लागि समर्पित भई कार्य गर्ने संचारकर्मीहरु पिडामा परेको वेला आफ्नो एक महिनाको सेवा सुबिधा सहयोग गर्न पाउँदा आफु गौरवान्बीत महसुस गरेको वडा अध्यक्ष चौधरी बताउनु हुन्छ ।

कोषलाई समुचित सदुपयोग गर्न तथा दाताहरुको विश्वास कायम गराउन मिति २०७८ बैशाख २८ गते बसेको नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यसमिति बैठकले कोभिड–१९ रौतहट पत्रकार राहत कोष कार्यविधि २०७८ अनुमोदन गरि ३ सदस्यी संयोजन समिति गठन गरि कोषको रकम खर्च गर्ने निर्णय गरेको छ ।

संयोजन समितिको संयोजकमा बरिष्ठ पत्रकार शैलेन्द्र गुप्ता, बरिष्ठ पत्रकार संजय मिश्रा तथा रौतहट शाखाका सचिव मदन ठाकुर(धन्नजय) रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषध्यक्ष धर्मेन्द्र कुमार साहले बताउनु भएको छ ।

कार्यविधि अनुसार कोरोना संक्रमित भई निधन भएका पत्रकारलाई आर्थिक अवस्था हेर्दै २५ हजार देखि १ लाख सम्म, संक्रमित भई अस्पताल भर्ना भएका पत्रकारलाई निजको आर्थिक अवस्था हेर्दै १० हजार देखि २५ हजार सम्म तथा संक्रमित भई होमआईसोलेसनमा रहेका पत्रकारलाई ५ हजार सम्म संयोजन समितिले सिफारिस गर्न सक्ने व्यवस्था रहेको कुरा नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष प्रविण कुमार शर्माले बताउनु भयो ।

कोषको छुट्टै खाता माछापुच्छे बैंङक गौर शाखामा रहेको तथा खाता नं. १५४०९९००२४९००६०१ मा सहयोग राशी जम्मा गरि विपद्को हालको अवस्थामा सहयोग गर्न आम जनसमुदायलाई शाखा सचिव मदन ठाकुरले अनुरोध गरेका छन्।