हेटौंडा–सत्तारुढ दलहरुले केन्द्रमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति भएको हो ।

जसअनुसार कांग्रेसले बिराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा बीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ । नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिका मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ । जनता समाजवादी पार्टीले बीरगञ्जको मेयर र बिराटनगरको उपमेयर पाउनेछ ।

उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ । नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।

नेकपा (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ । जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिका मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।

यस हिसाबले ६ वटा महानगरमा कांग्रेसले ३ महानगरमा मेयर र ३ महानगरमा उपमेयरको सिट पाएको हो । जबकि, २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र बिराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवैमा जितेको थियो । पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो । २०७४ को निर्वाचनमा महानगरमा मेयर र उपमेयर गरी सात जना जितेको कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर गरी ६ सिट पाएको छ । त्यसमा पनि सबै सिटमा जित हात पार्छ भनेर हाल नै भन्न सकिने अवस्था छैन । जति सिट पाएको छ, ती सबैमा जिते पनि कांग्रेस महानगरमा अघिल्लो चुनाबको तुलनामा कम सिटमा जित्नेछ ।

कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका मेयर र उपमेयर दुवैमा जितेको थियो । मेयरमा चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत लिएर जितेका थिए । एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकार ३ सय २६ मतान्तरले पराजित भएका थिए । उनले २४ हजार ३ सय १६ मत पाएका थिए ।

उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार ८ सय १९ मत पाएर विजयी भएकी थिइन् । साझा पार्टीकी शोभा शाक्य ५ हजार ५ सय ७९ मतान्तरले पराजित भएकी थिइन् । उनले १४ हजार २ सय ४० मत ल्याएकी थिइन् । ललितपुरमा २०७४ सालको निर्वाचनमा १ लाख १२ हजार ९ सय २३ मतदाता थिए । हाल १ लाख २२ हजार ८ सय ९० मतदाता छन् ।

काठमाडौं महानगरपालिकामा २०७४ सालका निर्वाचनमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य विजयी भएका थिए । उनले ६४ हजार ९ सय १३ मत पाएका थिए । कांग्रेस उम्मेद्वार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए । विद्यासुन्दरले १९ हजार बढी मतान्तरले जोशीलाई पराजित गरेका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् । उनले ५८ हजार ९ सय ५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाएका थिए । काठमाडौं महानगरपालिकामा २०७४ सालमा २ लाख ७९ हजार ३ सय ९ मतदाता थिए । हाल ३ लाख २४२ मतदाता छन् ।

कांग्रेसले मेयरमा दाबी गरेको अर्को महानगर हो, बिराटनगर । बिराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की इन्दु विजयी भएका थिए । पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाएका थिए ।

उपमेयरमा कार्की २० हजार १ सय ४६ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत पाएकी थिइन् । २०७९ को निर्वाचनका लागि बिराटनरगमा कांग्रेसले मेयरको लागिमात्र सिट पाएका छ । उपमेयर भने जसपाले पाएको छ । २०७४ को निर्वाचनमा १ लाख १३ हजार ७ सय ६१ मतदाता थिए भने हाल १ लाख ३३ हजार १ सय ४२ मतदाता छन् ।

२०७४ को निर्वाचनमा मेयर र उपमेयर एमाले विजयी भएको पोखरा महानगरपालिकामा यसपालि कांग्रेसको भागमा उपमेयर परेको छ । एकीकृत समाजवादीको भागमा मेयर परेको छ । जसले गर्दा त्यहाँ विवाद चलिरहेको छ । कांग्रेस नेता–कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

बीरगञ्ज महानगरपालिका उपमेयर कांग्रेसको भागमा परेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसकै शान्ति कार्की १९ हजार ६ सय मत पाएर विजयी भएकी थिइन् । मेयरमा भने तत्कालीन संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका थिए । उनी हाल एमाले प्रवेश गरेका छन् । एमालेका तर्फबाट उनले नै टिकट पाउने प्रवल सम्भावना छ । सत्तारुढ गठबन्धनबाट भने जसपाको भागमा मेयरको सिट परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here