♦ निशा गुरुङ
हेटौंडा–स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुलाई आआफ्नो चुनावी प्रचार तथा घरदैलो कार्यक्रम गर्न भ्याइनभ्याइ छ । घरदैलोको समय १० दिनको मात्र भएकाले उम्मेद्वारहरु प्रत्येक घरमा पुग्ने अवस्था छैन ।
हेटौंडा उपमहानगरपालिकामा रहेका १९ वटा वडाकै घरमा पुग्न उनीहरुलाई मुस्किल छ । उनीहरुले सम्भव भएसम्म घरघरमा पुगेर भोट मागेका छन् । कतिपय ठाउँमा कोणसभामार्फत् आफ्ना योजना सुनाउँदै जनतालाई मत दिन आह्वान गरिरहेका छन् । सत्ता गठबन्धनको चुनौती रहे पनि हेटौंडा उपमहानगरमा नेकपा एमालेका उम्मेद्वारहरु आक्रामकरुपमा घरदैलोसँगै कोणसभामा व्यस्त छन् । उपमहानगर मेयर उम्मेद्वार अनन्त पौडेल, उपमेयर उम्मेद्वार सुमित्रा काफ्ले वडावडामा पुगेर मत मागिरहेका छन् ।
उनीहरुले नगरका १६ वटा वडामा घरदैलो गरिसकेका छन् । अब वडा नम्बर–४, ९ र १८ बाँकी छ । एमालेले अघिल्लो निर्वाचनको विरासत जोगाउँदै केही वडा थप गर्ने रणनीति बनाएको छ । हेटौंडाका वडा नम्बर–६ लाई कांग्रेसको गढका रुपमा लिने गरिए पनि शुक्रबार एमालेको घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति र मायाले उत्साहित भएको एमालेबाट हेटौंडा उपमहानगर मेयर उम्मेद्वार पौडेलले बताए । ‘घरदैलोका क्रममा स्थानीयले जनाएको सहभागिता र मायाले उत्साहित छु,’ पौडेलले भने–जनताको साथलाई कहिले विश्वासघात गर्दिनँ, आफ्नो क्षमताले भ्याएको काम गर्नेछु । पौडेलले चौघडाबासीलाई नेकपा एमालेका उम्मेद्वार सबैलाई मतदान गरी निर्वाचन गराउन आग्रह गरेका थिए ।
सत्ता गठबन्धनमा रहेका दलहरुले पनि चुनावी प्रचारप्रसार र घरदैलोलाई तीव्र पारेका छन् ।
२०४९, २०५४ र २०७४ मा मेयर, उपमेयर दुवै जितेको एमाले आफ्नो लालकिल्ला कायम राख्न अडिग देखिएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले) ले हेटौंडा उपमहानगरमा जित हासिल गरेको थियो । एमालेविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आवद्ध भए पनि एमालेले जित हासिल गरेको थियो ।
उपमहानगर प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा विजयी भएका थिए । २०७४ मा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो साबित भएको थियो । प्रमुखमा महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारेका थिए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत पाएका थिए ।
उपप्रमुखमा एमालेकी लामाले माओवादी केन्द्रका बलराम बललाई हराउँदै जित हात पारेकी थिइन् । लामाले २३ हजार ४ सय ३७ मत ल्याउँदा बलले १७ हजार ११ मत पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७ सय २ मत पाएर तेस्रो बनिन् । नयाँशक्ति पार्टीका उम्मेद्वारले १ हजार १ सय ५३ मत ल्याउँदा अन्य उम्मेद्वारले ५ सय मत कटाउन सकेनन् ।
उपमहानगरका १९ वडामध्ये २०७४ को निर्वाचनमा एमालेले १२ वटा वडामा जित हात पारेको थियो । कांग्रेसले ५ वटा वडामा र माओवादी केन्द्रले २ वटा वडामा जितेको थियो । एमालेले हेटौंडाको वडा नम्बर–२, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८, १९ मा जितेको थियो भने कांग्रेसले वडा नम्बर–१, ५, ६, १५ र १६ मा जितेको थियो । माओवादी केन्द्रले वडा नम्बर–१२ र १४ मा जितेको थियो । त्यसो त, हाल १४ नम्बर वडाध्यक्ष माओवादी केन्द्र त्यागेर एमालेमा आवद्ध भएका छन् । एमालेबाट निर्वाचित वडा नम्बर–१३ का अध्यक्ष एकीकृत समाजवादीमा आवद्ध भएका छन् । उपप्रमुख लामाले पनि एकीकृत समाजवादी रोजेकी छन् ।
गठबन्धन एमालेको किल्ला भत्काएर विरासत तोड्दै हेटौंडा उपमहानगरपालिकामा नयाँ अनुहारलाई प्रमुख बनाउन अग्रसर देखिएको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीना लामा प्रमुख र नेपाली कांग्रेसका राजेश बानियाँ उपप्रमुखका उम्मेद्वार बनेर चुनावी मैदानमा छन् ।
हेटौंडामा यस पटक राप्रपाले मेयरमा पुराना नेता दीपकबहादुर सिंहलाई तथा इन्दिरा डल्लाकोटीलाई उपमेयर उम्मेद्वार बनाएको छ । स्थानीय तथा संसदीय निर्वाचनमा ३ पटक पराजित भइसकेका सिंह यस पटक जसरी भए पनि जित्ने उद्धेश्य लिएर प्रतिस्पर्धामा उत्रिएको देखिन्छ । गठबन्धनमा भएको बेमेलको फाइदा उठाउने तयारी सिंहको छ ।
राजनीतिक समीकरण फेरिए पनि निर्वाचनमा फेरि एमाले पहिलो नै हुने एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठको दाबी छ । ‘हामीलाई विश्वास छ हेटौंडा उपमहानगरमा एमालेको झण्डा फहराइने छ । एमालेलाई पराजित गर्नेमात्र उद्धेश्य राखेर निर्माण भएको गठबन्धनलाई हराउन एमाले एक्लै सक्षम रहेको भन्दै उनले यस पटक हेटौंडा उपमहानगरमात्र नभइ १० वटै स्थानीय तहमा एमालेले विशाल विजय हासिल गर्ने बताए ।