जात–थरमा मात्रै होइन, नाम र परिभाषामा समेत देखिएको जातीय श्रेष्ठतावाद राज्य पुनःसंरचना, संघीयता, प्रादेशिक विभाजन, सीमांकन र नामांकनमा पनि प्रस्टै देखिनु अनौठो होइन ।
झट्ट हेर्दा लाग्छ, ‘फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी’ मा नाम र थर मात्र छन्, तर तिनमा नाम र जातसँगै घोर अपमानसमेत छ । जातकै कारण अपमान भोगिरहेका मानिसहरूका लागि त नामका आधारमा हेलाहोचो, उपेक्षा र अवहेलनासमेत छ ।
र, ‘नाममा के राखिएको छ र’ भनी हेपाहा सवाल गर्नेहरूका लागि बलियो जवाफ पनि छ । यस्ता नाम र थर जोडेर न्वारन गर्नेहरूको पूर्वाग्रह कति खतरनाक हुन सक्छ, हजारौं वर्षदेखि अछुत बनाइएका समुदायका व्यक्तिहरूले झेलेका अपमान, विभेद र हिंसामा नराम्ररी देखिएको छ । अपमानजनक न्वारन गर्ने पण्डित–पुरोहित तथा त्यसमा ठप्पा लगाउने कथित उच्च जातका हाकिमहरूले दलितहरूका नाम र नागरिकतामा पहिचानका आधारमा हुन सक्ने असीम दुराग्रह देखाएका छन् । यस्तो नामकरणले अन्य व्यक्ति र समुदायको बदख्वाइँ मात्रै गरेको छैन, आफ्नो जातीय श्रेष्ठतावादलाई पनि पोखेको छ । जात र जातिका आधारमा पोखिने श्रेष्ठतावाद जति हदसम्म पूर्वाग्रह र दुराग्रहका साथ अभिव्यक्त हुँदै छ, त्यसले न्याय र समताको आकांक्षालाई बगाउन खोजेको देखिन्छ ।
अध्येता शिवहरि ज्ञवालीका अनुसार, नाममा पनि शासन र प्रशासनमा एकछत्र राज गरेका कथित उच्च जातको राजनीति जारी छ । दलितको मानमर्दन गर्ने, स्वाभिमान उठ्न नदिने र शासन गर्ने तरिकाले अपमानजनक नाम राखिने तर्कका साथ उनी भन्छन्- दलितहरूलाई ‘मांगलिक नामकरण’ गर्न संस्थागत रूपमै निषेध थियो, आफ्ना सन्तानको नाम आफैं राख्न पनि बन्देज थियो, कदाचित् ‘मंगलवाचक’ नाम राखिए दण्डको व्यवस्थासमेत थियो (‘नाममै अपमान,’ कान्तिपुर, २०७९) ।
खस समुदायलाई ‘व्रात्य’ एवं इस्लाम धर्म मान्ने मुसलमान, इसाई धर्म मान्ने पश्चिमा गोराहरूसँगै किरात समुदायलाई ‘म्लेच्छ’ भन्ने चलन इतिहास भएको छैन । यस्ता शासक–प्रशासक जातिका मानिसहरूका मन–मस्तिष्कमा अरूका नाम, खाना, लुगा, भाषा, धर्म, संस्कृति र देशप्रति कति हदसम्म विद्वेष छ, उनीहरूका गालीगलौजयुक्त नामकरण, अनेक भाष्य र संकथन (डिस्कोर्स) मा प्रस्ट देखिन्छ ।