काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अहिलेसम्म आफूले गरेका कामको सूची सार्वजनिक गरेका छन् । ‘१०० दिनमा के गरिस्’ भनेर प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले बुधबार १३ कामको सूची सार्वजनिक गरेका हुन् ।
सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै धरानको मेयरमा निर्वाचित राईले गत जेठ ९ गते शपथ लिएका थिए । बुधबार उनले शपथ लिएको ८७औं दिन हो । मेयर राईले अहिलेसम्म ४ ठाउँबाट खानेपानीको मुहान थपेको जानकारी दिएका छन् । त्यस्तै श्रमसंस्कृतिको क्रान्ति सुरु गरेको पनि उनको भनाइ छ ।
धरानमा खानेपानी मुहान बनाउन होस् वा वृक्षरोपण गर्न पछिल्लो समय हजारौँ मानिसको सहभागिता हुने गरेको छ । त्यस्तै उनले अहिलेसम्म ६ लाख विरुवा रोपेको पनि बताएका छन् । केही दिन काठमाडौं बसेर गएका मेयर राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रमदानका लागि निमन्त्रणा दिएको बताएका छन् । त्यस्तै उनले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, अर्थमन्त्री जनार्दन शर्मालगायतका व्यक्तिलाई पनि भेटेका थिए ।
स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।
यस्ता छन् मेयर राईले उल्लेख गरेका काम
- १. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें !
- २. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
- ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
- ४. ६ लाख विरुवा रोपें !
- ५. सरसफाइमा देखिने सुधार ल्याएँ !
- ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
- ७. जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालें !
- ८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
- ९. लागूऔषधविरुद्धको अभियान सुरु गरें !
- १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
- ११. पारदर्शी हिसाब किताब सार्वजनिक गरें !
- १२. पालिकाका सेवामा तीव्रता र प्रस्टता ल्याइदिएँ !
- १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !