काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका छन् ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन् ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।
अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।
मेयर शाहले नियमविपरीत बेसमेन्ट भाडामा लगाउने दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । उनले व्यवासयीहरूलाई सम्बन्धित घरबारे थाहा नहुने र त्यसको सम्पूर्ण विवरण दिने जिम्मेवारी घरबेटीकै हुने जनाएका छन् ।
महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने भएको छ ।