हराएको फिल्म जब फर्कियो !

0
430

काठमाडौँ — ‘मलाई त काठमाडौं आइज, गलैंचा फ्याक्ट्रीमा काम खोजिदिन्छु भन्नुभा’छ । सधैं बाउको कुटाइ खानुभन्दा त जाने हो’, फिल्म ‘ऐना झ्यालको पुतली’मा ‘बाङ्गे’ चरित्रले यो संवाद बोल्छ । बाङ्गेको चरित्रमा अभिनय गरिरहेका बाल कलाकार उमेश श्रेष्ठलाई त्यतिबेलासम्म ‘काठमाडौं कस्तो छ’ भन्नेसमेत थाहा थिएन । सोच्थे, ‘काठमाडौं पनि चैनपुरजस्तै होला ।’ तर, फिल्मको प्रदर्शन नजिकिएसँगै पहिलो पटक काठमाडौं टेकेका उमेश यहाँका ठूल्ठूला घर देखेर दंग छन् ।

‘अस्ति पिलेनबाट यहाँ आउँदा धेरै घरहरू देखें । काठमाडौंमा ठूल्ठूलो घर होला, चैनपुरजस्तै होला भन्ने सोचेको थिएँ । तर, काठमाडौंमा त बाक्लो बस्ती रहेछ,’ उमेशले भने । फिल्मको ट्रेलरमा बाङ्गेले बसन्त (दिनेश खत्री)सँग बोल्ने अर्को संवाद पनि समेटिएको छ- ‘तँ र म सँगै भागौं न काठमाडौं ।’

फिल्मको यो दृश्यमा सट दिँदै गर्दा उमेशले सोचेका थिएनन्, काठमाडौं आउन पाउँला भन्ने । परीक्षाका कारण बसन्तको चरित्र निभाएका दिनेश संखुवासभामै छुटे, तर उमेश भने फिल्मका अन्य बालकलाकार लक्ष्मी चिमरिया, क्षितिज लिम्बु, प्रशन्न पौडेलसँगै काठमाडौं आइपुगेका छन् ।

सुजीत बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ यी कलाकारहरूका लागि डेब्यु फिल्म हो । यसअघि कहिल्यै अभिनय नगरेका यी ‘नन-एक्टर’ ले फिल्ममा अभिनय गरेका छन् । दिदी र भाइको कथामाथि बनेको यो फिल्मको बुसानमा वर्ल्ड प्रिमियर भयो । ‘२०औं ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको यो फिल्मलाई पर्दामा हेर्न उनीहरू आतुर छन् ।

‘पाँच वर्षअघि छायांकन भएको फिल्म हेर्ने दिन नजिकिँदै छ । एकदम उत्साहित छु,’ फिल्ममा दिदी विद्याको चरित्रमा देखिएकी लक्ष्मीले सुनाइन् । फिल्म गर्दा कक्षा ९ मा पढ्ने लक्ष्मी अहिले कक्षा १२ सकेर मेडिकल परीक्षाको तयारीमा छिन् । अहिले त उनी कक्षा ६ र ८ का विद्यार्थीलाई पढाउँछिन् । ट्रेलर सार्वजनिक भएसँगै ती विद्यार्थीले लक्ष्मीलाई फिल्मकै विषयमा सोधिरहेका हुन्छन् । भन्छिन्, ‘कक्षामा छिर्न नपाउँदै विद्यार्थीहरूले तपाईंले फिल्म खेल्नुभएको रहेछ भन्छन् । हामी हेर्छौं तपाईंको फिल्म भन्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here