काठमाडौँ — वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको प्रभाव परेको उल्लेख गर्दै नेपालले छिट्टै ‘क्लाइमेट इमर्जेन्सी’ लगाउने बताएका छन् ।
उनले ‘क्लाइमेट एक्सन च्याम्पियन नेटवर्क’ सम्मेलनमा मंगलबार सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनलाई रोक्न संयुक्त राष्ट्र संघका सन्धिहरू र पेरिस सम्झौतालाई पालना गरिरहेको पनि बताए ।
यस क्रममा दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी कार्यवहाक सहायक उपमन्त्री एलिजावेथ होर्स्टले जलवायु परिवर्तनको कारण दक्षिण एसिया जोखिममा रहेको बताइन् ।
उनले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न अमेरिकासहित सबै मिलेर लाग्नुपर्ने पनि बताइन् । साथै जलवायु परिवर्तनको कारण दक्षिण एसियामा खाद्य संकट हुनसक्ने उनको चेतावनी थियो ।
क्लाइमेट एक्सन च्याम्पियन नेटवर्क कार्यक्रममा नेपालसहित दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।