रौतहट, २ असोज । रौतहटको दुर्गा भगवती गाउपालिका वडा नं. ३ मत्सरी स्थित वाग्मती नदीमा आएको बाढीले कटान सुरु गरेको छ । दूर्गा भगवती गाउँपालिकाकाे वडा नं ३ मत्सरीकाे पर्सा घाटमा बागमती नदीकाे प्रकोपकाे कारण बाँधकाे स्थिति अत्यन्त जोखिम बनेको छ । कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको सोही वडाका वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले बताए । ‘बाढी कम भएपनि कटान रोकिएको छैन । वाग्मतीले कटान सुरु गरेपछि तनाव थपिएको छ,’ उनले भने, ‘यसरी कटान गर्यो र रोकथाम गर्न सकिएन भने बाँधलाई असर गर्छ ।’ कटान रोक्न अहिले स्थानीय सरकारले सहयोग गरेता पनि नदि नियन्त्रण कार्यालय नदी नियन्त्रण बारा पर्वानीपुर , जिल्ला विपद व्यवस्थापन समिति रौतहटले खासै चासो नदेखाएको वडा अध्यक्ष झाले बताए । यही समस्याबाट नदी छेउका स्थानीय लामो समयदेखि त्रासमा रहेको कुरा वडा अध्यक्ष झाले बताए ।
किसानहरु पुरै मर्कामा परेका छन् तत्काल बाँध बचाउन सरोकार बला सम्पूर्ण निकायलाई एकजुट भई बाँध बचाइ बस्तीलाई सुरक्षित पार्न वडा अध्यक्ष झाले हार्दिक अपील गरेका छन् । त्यसै गरि राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको छ । यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ ।