खरो र खस्रो टिकाटिप्पणी गरेर सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्, हर्क साम्पाङ । उनका पोस्टहरुमा ताली र गाली सराबरी हुन्छ । तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन् यी । धरान उपमहानगर प्रमुख साम्पाङ ‘आफ्नै पाराका’ छन् ।
बन–विरुवा, कला–संस्कृतिप्रति पनि उनको छुटै लगाव देखिन्छ । कहिले झाडु बोकेर धरानको सडक त कहिले गिटी कुट्दै खोला किनारतिर देखिने उनी तिहारको मेसोमा भने सयपत्री फूलले ढाकिएर ‘दिपावली सन्देश’ दिइरहेका भेटिए ।
गलाभरी सयपत्री, शिरमा ढाकाटोपी । त्यसमाथि पनि सयपत्री । तिहार मुडमा देखिएका हर्क साम्पाङ भिडियो सन्देशमा भन्दै थिए, ‘मान्छे हाँस्नपर्ने रहेछ । हाँस्नका लागि कसरी हाँस्ने, कसरी खुसी हुने ? दुई दिनको जिन्दगीमा ।’
उनी थप्छन्, ‘यसबीचमा लामो संघर्ष त हुन्छ । तर, जीवन छोटो छ । अनि यो छोटो जीवनमा कसरी खुसी रहन सकिन्छ भन्ने हाम्रो कोसिस रहन्छ । यस्ता चाडपर्वहरु हाम्रा पितापूर्खाले दुःख पीरहरु बिर्सनका लागि मनाए होलान् । बनाएको होला जस्तो मलाई लाग्छ ।’
यी चाडपर्वको पृष्टभूमी थाहा नभएपनि मान्छेले खुसी, उत्साह र उमंग कायम राख्न चाडपर्व मनाउने परम्परा सुरु गरेको उनको बुभाई छ । तिहार पनि यसैमध्येको एउटा महत्वपूर्ण पर्व हो । झिलिमिली, देउसीभैलो, फूलमालाको यो पर्वले सर्वत्र उत्साह छाउँछ । साम्पाङ थप्छन्, ‘यसरी हाँसिरहन, नाचिरहन, बाँचिरहन सकौं । हामी दिनमा एक पटक भएपनि खुलेर हाँस्न सक्नुपर्छ, यसले मनरोगबाट मुक्त गर्छ ।’
दिनमा एक पटक मात्र हाँस्दा पनि डिप्रेसन जस्तो मनोविकारबाट छुटकारा पाइने उनको बुझाई छ । ‘नाच्न सक्नु चाहिँ हाँस्न सक्नुभन्दा पनि माथिको चरण हो जस्तो लाग्छ’ उनी भन्छन्, ‘दुःखी मान्छे कहिल्यै नाँच्दैन । नाच्छ त ?’
नर्तक वा डान्सर नै नभएपनि गीतको तालमा ताल मिलाएर नाच्दा मन फुरुंग हुने उनको अनुभव छ । नाचिरहँदा मनभित्र गुम्सिएको तनाव निस्किएको जस्तो हुने उनी बताउँछन् ।
तिहार उज्यालोको प्रतिकात्मक चाड भएको बताउँदै साम्पाङ यतिबेला भड्किलो गतिविधि नगर्न पनि सुझाउँछन् । उनी भन्छन्, ‘उज्यालो बत्तीको चाड हो । तर, बत्ती बाल्दा सावधानी अपनाउनुपर्छ ।