गठबन्धन सरकार आएपछि विकास अवरुद्ध भयो : ओली

0
296

बागलुङ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सरकार बनाएपछि विकास अवरुद्ध भएको आरोप लगाएका छन् । तीव्र गतिमा अगाडि बढेको विकास रोकेर गठबन्धनले जनताको चाहनालाई पनि रोकेको आरोप लगाए । यस्तै निर्वाचनपछि अहिलेको सत्ता गठबन्धनबाट सरकार बन्न नसक्ने उनको जिकिर छ ।

सोमबार बागलुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्ड पथमा लागेको आरोप लगाए । उनले प्रचण्डको पछि लागेका देउवाले कांग्रेसलाई माओवादीभन्दा सानो बनाउने टिप्प्णी गरेका थिए ।

यस्तै मंसिर ४ गतेपछि एमाले सरकार बन्ने उनको दाबी थियो । ‘सरकार कमजोर हुँदा राष्ट्रियता र विकास निर्माण समेत अवरुद्ध भएको छ, कांग्रेस र गठबन्धनबाट देशमा विकासको आसै नगरौं,’ ओलीले भने, ‘देश जोगाउने काम पनि एमालेले मात्रै गर्न सक्छ ।’

तर अरु दल सबै देश र जनविरोधी भएको उनको आरोप थियो । आफ्नो दलमा विभिन्न स्थानमा गठबन्धन गरेका अन्य दललाई भने उनले राष्ट्रवादीहरू भनेर सम्बोधन गरेका थिए ।

जनताको समस्या बुझ्ने, गुट उपगुट नभएको दल एमाले मात्रै भएको उनको दाबी थियो । बुर्तिवाङ लगायत समावेश भएको निर्वाचन क्षेत्र नंं २ का गठबन्धन उमेदवार बनेका माओवादीका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेललाई उनले ‘पाहुना उमेदवार’ भन्दै कटाक्ष गरेका थिए ।

‘घुम्न आएका पाहुनाबाट विकास सम्भव छैन,’ उनले भने, ‘काम गर्न आफ्नै उमेदवार चाहिन्छ ।’ उनले एमालेको उमेदवार आफ्नै भएको उनको जिकिर थियो । नेकपा एमालेले भने यस क्षेत्रमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी मञ्जु शर्मा चालिसेलाई उमेदवार बनाएको छ ।

यसैबीच नेता ओलीले कुटनीतिक पहल गरेर भए पनि गुमेका भूभाग फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले आफ्नो पालामा रेल ल्याएको दाबी गर्दै पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न पनि एमाले चाहिने बताएका थिए । सभार-कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here