यूएईसँग नेपाल ८४ रनले पराजित

0
517

काठमाडौँ — अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई ८४ रनले पराजित गरेको छ । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाई १ सय ७९ रनमात्र बनाउन सक्यो ।

ब्याटिङमा निकै कमजोर सुरुआत गरेको नेपालबाट अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका अर्जुनले ७९ बल खेल्दै ५ चौका प्रहार गरे । उनका ओपनिङ जोडि आसिफ शेख १२ रनमा आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल दुई बल खेली डकआउट भए ।

मंगलबार १७औं जन्मदिन मनाउने क्रममा रहेका आयन खानले नेपाली ब्याटिङलाई भताभुङ्ग बनाइदिए । एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलिरहेका उनले आसिफ र ज्ञानेन्द्रसहित रोहित पौडेलको पनि विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कप्तानका रूपमा पहिलो खेल खेलिरहेका रोहितले १ रनमात्र जोड्न सके । डेब्यु गरिरहेका हरिशंकर शाह ८ रनमा आउट भए । त्यसपछि अर्जुन र दीपेन्द्रले नेपाली इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । दीपेन्द्रले ८४ बल खेली ६ चौका प्रहार गरे ।

कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए । कुशललाई पनि आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे । करण केसी ३ रनमा आउट भए । गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको यूएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए ।

यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको थियो । मोहम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभर भित्र ७५ रन जोडेर यूएईलाई राम्रो सुरुआत दिलाएका थिए । गुलशन झाले वासिमलाई बोल्ड गरि यो साझेदारी तोडेका थिए । सोही ओभरमा उनले कप्तान सीपी रिजवानलाई एलबीडब्लू आउट गरेपछि नेपालको आशा जगाएका थिए ।

वासिमले ४१ बल खेलि ६ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । २७ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले अर्विन्दलाई आउट गरे । अर्विन्दले ८२ बल खेली ६ चौका प्रहार गर्दै ४० रन बनाए । टोलीमा पुनरागमन जनाएका रोहन मुस्ताफाले अर्धशतक बनाए । नेपालविरुद्ध प्राय: राम्रो खेल्दै आएका उनले ७३ बल खेली ७ चौका प्रहार गरी ५३ रन बनाए ।

त्यसपछिका तीन विकेट नेपालले रनआउटमा लिएको थियो । अलिसान सराफुले २९ रन बनाए । ३९ बल खेल्दै २ चौका प्रहार गरेका उनलाई कप्तान रोहित पौडेल र आसिफले मिलेर आउट गरे । बसिल हमिदले १४ रन बनाए । आयन खान र अहमद राजाले सातौं विकेटमा ४८ रनको साझेदारी गरि यूएईलाई मजबुत स्थितिमा ल्याए । आयनले २८ बल खेली १ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए ।

गुलशनले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिनेक्रममा १० ओभरमा ६७ रन खर्चे । दीपेन्द्रले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । ललित राजवंशीले कुनै विकेट नलिए पनि १० ओभरमा १ मेडन राख्दै ३६ रनमात्र खर्चे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here