रविको गाडीमा आक्रमणबारे ओलीको टिप्पणी : घण्टी बजाउन पनि नदिने ?

0
333

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग डराउन नपर्ने बताएका छन् ।

सोमबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा युवा चुनाव लड्न आउँदैमा डराउन नपर्ने टिप्पणी गरेका हुन् ।

आइतबार लामिछानेको चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएको विषय उठाएर उनले सत्तारुढ गठबन्धनको विरोध जनाए । ‘यहाँ एउटा युवा, चुनाव लड्न मन लाग्यो आयो, चुनाव लड्छ ठीक छ नि, एउटा युवा चुनाव लड्छु भन्दा गाडी फुटाउनुपर्छ ?’ ओलीले प्रश्न गरे ।

उनले सभाको मञ्चमा राम्रो डान्सर नाचेको देखेमा केटाकेटीहरु पनि छेउतिर नाच्ने भन्दै त्यसमा धेरै आत्तिनुनपर्ने टिप्पणी गरे ।

ओलीले सभास्थलको मञ्चतिर संकेत गर्दैै भने ‘यहाँ राम्रो डान्सर नचाउनुभयो राम्रो गीतमा भने त्यहाँ (मञ्चको तलतिर) केटाकेटी नाच्न थाल्छन्, डान्सरहरुले आत्तिनुपर्छ, त्यहाँ केटाकेटी नाचे भन्दैमा’ ओलीले प्रश्न गरे, ‘यहाँ (मञ्चमा) कलाकार नाच्ने हो, डान्सर नाच्ने हो, केटाकेटी त्यहाँ (मञ्चको तलतिर) नाचिरहेका हुन्छन् ।

उनले अगाडि भने, ‘कोही कोही उत्साहित भएर छेउतिर नाचिरहेका हुन्छन् । युवाहरु आए राजनीतिमा रुची राखे राम्रो कुरा हो, ४ गतेसम्म कुद्छन् ठीक छ नि ।’ सत्तारुढ गठबन्धनका कार्यकर्ता भने आत्तिएर ढुंगा हानेको ओलीले टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । ओलीले उनको चुनाव चिह्न घन्टीतिर संकेत गर्दैै भने, ‘ढ्यांग्रो बजाएको छैन, घन्टी पनि बजाउन नदिने ? अनि ढुंगा हान्न जाने ?’

उनले सत्तारुढ गठबन्धनतर्फ व्यंग्यको शैलीमा भने, ‘दमाहा बजाएको होइन, नरसिंह बजाएको पनि होइन, एउटा घण्टी… । कति आत्तिएको ?’

सभार-कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here