काठमाडौँ — पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइतेहरुको उद्धार जारी छ ।
आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो ।विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।