सन्दीपलाई युएई लैजान अनुमतिका लागि क्यानले थाल्यो प्रक्रिया

0
492

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी लिग-२ एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि युएई लैजान अनुमति लिने प्रक्रिया सुरु गरेको छ।

क्यानका व्यवस्थापक विनोद दासले सन्दीपलाई युएई लैजानका लागि सरोकारवाला निकायसँग अनुमतिका लागि प्रक्रिया सुरु गरेको बताएका छन्। 

‘अदालतबाट अनुमति लिन हामीले सरोकारवाला निकायसँग पत्रचार गरेका छौँ’, व्यवस्थापक दासले भने, ‘अन्तिम निर्णय अदालतले गर्ने भएकाले अनुमति पाए पठाउँछौँ, नपाए पठाउँदैनौँ। तर प्रक्रिया सुरु गरिसकेका छौँ।’ 

नाबालिग बलात्कार आरोपमा लागेका सन्दीपलाई उच्च आदालत पाटनले पुस २८ मा २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

उच्च अदालतले आदेशका क्रममा सन्दीपलाई विदेश भ्रमणमा रोक लगाएको थियो। त्यस्तै काठमाडौँ छाड्न पनि अदालतको अनुमति लिनुपर्ने आदेश त्यसबेला भएको थियो। 

घरेलु मैदानमा मंगलबार सम्पन्न आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्ड र नामिबिया सम्मिलित खेलमा सन्दीपले उत्कृष्ट प्रर्दशन गरेका थिए। उनले ४ खेलमा १३ विकेट लिएका थिए। 

युएई र पपुवा न्यू गिनीसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली यही शनिबार युएई जाने तालिका छ। 

नेपालले सिरिजको आफ्नो पहिलो खेल २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ। 

दोस्रो खेल २ मार्चमा युएईसँग र त्यसको भोलिपल्ट फेरि पपुवा न्यु गिनीसँग खेल्नेछ। सिरिजको अन्तिम खेल ६ मार्चमा युएईसँग खेल्नेछ। 

त्यसपछि नेपालले फेरि ९ मार्च देखि घरेलु मैदानमा पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here