नेकपा एमालेले राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाबमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टिक्न नसकेको ठहर गरेको छ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा ब्रिफिङ गरेका थिए।
पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउने ७ दल एकै ठाउमा उभिएदेखि विभिन्न शक्ति त्यसलाई भत्काउन लागेको ओलीले बैठकमा बताएका थिए।
‘पुस २६ गते प्रचण्डजीलाई कांग्रेसले उसै विश्वासको मत दिएकै होइन,’ बैठकमा ओलीले राखेको भनाई उदृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने, ‘त्यहीदिनदेखी इन्टरनेशनल प्रेसर सुरु भयो। त्यसमा प्रचण्डजी टिक्न सक्नु भएन।’
‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाबमा उहाँ झुक्नुभयो’, बैठकमा ओलीको भनाई थियो। बैठकले पुस १० गतेको सहमती अनुसार उम्मेदवार उठाउने निर्णय पनि गरेको छ।
‘पुस१० गते नै हामीले राष्ट्रपति लिने सहमती भएकोले हामी त्यसमै अडिने निर्णय गर्दै हाम्रा उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका छौँ,’ ती नेताले भने, ‘सुवासजीलाई जिताउन काङ्ग्रेसबाहेक सबै दलसँग छलफल गर्छौं।’
एमालेले तत्काल सरकार पनि नछाड्ने भएको छ।
‘पहिलाको सहमती अनुसार अहिले सरकार छोड्नपर्ने कुनै कारण छैन,’ उनले भने।