कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

0
271

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको जानकारी नेपालखबरलाई दिएका छन्।

नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ। ‘उहाँलाई पक्राउ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामी छानबिनको प्रक्रियामा छौँ, अहिले थप बोल्न मिल्दैन।’

सांसद शर्मा पक्राउ परेकोबारेमा सीआईबीले भने औपचारिक पुष्टि गरेको छैन। उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाइसकेको छैन।

सांसद शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका थिए।

उनले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेकाले उनीहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिने गरेका थिए। सांसद शर्मा नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।

उनले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए। 

‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले भनेका थिए। 

कांग्रेसकै सांसद शर्माको सार्वजनिक अभिव्यक्तिका कारण अर्थमन्त्री डा. महत रुष्ट बनेका थिए। उता गृहमन्त्री श्रेष्ठ पनि उनीसँग चिढिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here