नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तत: दुई सिटमै चित्त बुझाएको छ। रिक्त १९ स्थानमध्ये सत्ता गठबन्धनभित्र भागबन्डामा कम्तीमा तीन सिट पाउनुपर्ने उसको अडान थियो।
आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा उसले त्यही अडान राखेको थियो। त्यसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहमत नभएपछि असन्तुष्टि राखेर निस्केको समाजवादीले लगत्तै सचिवालय बैठक राखेको थियो।
बैठकले त्यही दुई सिटमा चित्त बुझाउँदै नाम टुंग्याउने जिम्मा तीन जना नेतालाई दिएको छ।
‘हामीलाई दुई सिट मात्रै दिएको भनेर बैठकमा चर्को विरोध भयो। अन्तिममा त्यही दुई सिट स्वीकार गर्ने परिस्थिति बन्यो,’ सम्मानित नेता झलनाथ खनालले सेतोपाटीसँग भने, ‘क्लस्टरअनुसार उम्मेदवारको टुंगो लगाउन भने बाँकी छ।’
सचिवालयको बैठकले उम्मेदवार टुंग्याउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। ‘आजको बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंग्याउने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ,’ उनले भने।
शनिबार दिउँसो बसेको बैठकले पनि उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई नै दिएको थियो। आइतबार बिहान बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि अध्यक्ष नेपालले महासचिव घनश्याम भूसाललाई उसो भए के गठबन्धन छोड्ने त? भनेर सोधेका थिए।
भूसालले तीन सिटभन्दा तल झर्न नसकिने जवाफ फर्काएका थिए। ‘हामी राजनीतिक प्राणी हौं, राजनीतिक रूपमा चुनाव लड्न सक्छौं,’ भूसालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
यसो भनेर गठबन्धनमा असन्तुष्टि जनाएको एकीकृत समाजवादी सचिवालय बैठकपछि भने दुई सिटमै चित्त बुझाउने भएको छ।