Sunday, October 13, 2024

कांग्रेस नेताहरूले प्रधानमन्त्री हुने पालो माधव नेपालको भनेपछि ओलीको व्यङ्ग्य

ताजा / भरखरै प्राप्त

काठमाडौं, माघ २१। नेपाली कांग्रेसका नेताहरूले अब प्रधानमन्त्री हुने पालो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको हो भन्ने अभिव्यक्ति दिएपछि त्यसलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यङ्ग्य गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दल बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेताहरूप्रति लक्षित गर्दै माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेकोमा कटाक्षसमेत गरेका थिए।

‘समुदायमा कांग्रेस’ अभियानका क्रममा दाङ पुगेका बेला पूर्वउपसभापति विमलेन्द्र निधिले र नवलपुर पुगेका बेला पूर्वमहामन्त्री शशांक कोइरालाले सत्ता गठबन्धनभित्रको समझदारीअनुसार अब प्रधानमन्त्री हुने पालो माधवकुमार नेपालको हो भनेका थिए।

कांग्रेसका शीर्ष तहकै नेताहरूले यस्तो अभिव्यक्ति दिएकोमा एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। 

‘दलको होइन, स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर भनेका छन्,’ कांग्रेस नेता निधिप्रति लक्षित गर्दै ओलीले भने, ‘भनेपछि राजनीति कहाँ पुग्यो? भागबन्डा र सत्ताका लागि कसैलाई कुर्सीमा बसाउने? देश भड्खालामा गए जाओस्, उकालो लागोस् कि ओरालो लागोस् कसैलाई केही मतलब छैन। सत्ता, जहाँ पनि सत्ता।’

Laxmi bank

अध्यक्ष ओलीले माधवकुमार नेपालको नाम नलिई स्वतन्त्र हैसियतको सांसद भनेका थिए।

एमालेसँग छुट्टिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा रौतहट क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित प्रतिनिधि सभामा १० सांसद विजयी भएका थिए।

Ncell

तर एकीकृत समाजवादीले राष्ट्रिय दल बन्न सकेन। समानुपातिकतर्फ उसले दुई लाख ९८ हजार तीन सय ९१ मत ल्याएको थियो। समानुपातिकतर्फ खसेको कूल मतको तीन प्रतिशत नल्याएको एकीकृत समाजवादी राष्ट्रिय दल भएको थिएन।

अध्यक्ष ओलीले राष्ट्रिय दलसमेत नभएको र स्वतन्त्र हैसियतका सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेकोमा कांग्रेस नेताहरूलाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

‘पूर्वमहामन्त्री (शशांक कोइराला) ले समेत तिनै फलाना (माधवकुमार नेपाल) स्वतन्त्र हैसियतका व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने?,’ ओलीले भने, ‘दलीय व्यवस्था, जनताको अभिमतको कदर, भोटको कदर, दलीय व्यवस्थाको कुनै वास्ता छैन।’

गत माघ १८ गते दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता निधिले सत्ता गठबन्धन दलहरूका बीचमा भएको समझदारीअनुसार पहिले नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको बताए।

‘अब प्रधानमन्त्री बन्ने पालो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हो र त्यसपछि ०८४ को चुनाव गराउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, यही समझदारी छ,’ निधिले भने।

ओलीले संसद विघटन गरेका बेला पार्टी नै फुटाएर माधव नेपालले साथ दिएकोले उनलाई प्रधानमन्त्री बनाउने समझदारी बनेको निधिको भनाइ थियो। 

नवलपुरमा माघ १८ गते पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वमहामन्त्री कोइरालाले पनि गठबन्धनभित्रको पूर्वसहमति अनुसार प्रचण्डपछि प्रधानमन्त्री हुने पालो माधवकुमार नेपालको भएको बताएका थिए।

‘यो गठबन्धन निरन्तर चलिरहन्छ,’ कोइरालाले भने, ‘उहाँहरूले गठबन्धनभित्र गरेको सहमतिअनुसार अब प्रधानमन्त्री हुने माधवकुमार नेपाल हो, त्यसपछि शेरबहादुरजीको हुनुपर्ने हो।’

यो पनि: प्रचण्डजीले सजिलै प्रधानमन्त्री छोड्नु हुन्न: शशांक कोइराला (भिडिओ)

कांग्रेसको संस्थापनइतर समूहले भने कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताइरहेको छ। नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको वर्तमान सरकार कि सच्चिनुपर्ने होइन भने छाड्नुपर्ने बताउने गरेका छन्। ‘कांग्रेस नेतृत्वमा सरकार गठन अपरिहार्य नै भइसक्यो,’ कोइरालाले भन्ने गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles