फागुन १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बालकुमारी घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा आएर बोलेको विषयप्रति आपत्ति जनाएका छन्।

गत फागुन ६ गते बसेको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनामा हत्या भएको स्वीकार गरेको भन्दै सांसद शाहीले हत्यारा खोजेर कारबाही गर्नुपर्ने बताए।

‘फागुन ६ गतेको संसद् बैठकको १२ बजेर १२ मिनेट २७ सेकेन्डमा एउटा शब्द उच्चारण गर्नुभो। बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ,’ उनले भने, ‘बालकुमारीको घटना हत्या भएको हो भने, आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिकमन्त्री र गोली हान्ने प्रहरीका डीएसपीलाई अहिले जेल किन नहालेको? प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन।’

बालकुमारी घटनामा सरकारको छानबिन प्रतिवेदनले नै दोषी देखाएको भन्दै तत्काल पदबाट बर्खास्त गर्नुपर्ने माग प्रतिपक्षी दलहरूले राखेका छन्।
त्यसबारे गत फागुन ६ गते बसेको बैठकमा नै सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका थिए।

सोही ध्यानाकर्षण सम्झाउँदै संसद्मा उठेका प्रश्नको जवाफ दिन आज पनि सभामुख घिमिरेले रुलिङ गरेका हुन्।
प्रधानमन्त्रीले के भनेका थिए?
गत फागुन ६ गते बसेको संसद् बैठकमा बालकुमारी घटनाका भौतिकमन्त्री प्रकाश ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने एमालेसहित प्रतिपक्षी दलको माग थियो।
सोही दिन संसद्मा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राखिएको थियो।
सो प्रश्नोत्तर सुरु हुनुअघि प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे प्रस्टीकरण दिएका थिए।
उनले यो घटनामा सरकार गम्भीर भएको दाबी समेत गरेका थिए।
‘सरकारले १० लाख दियो त्यसपछि चुप लाग्यो भन्ने कुरा सत्य होइन। म के पनि भन्न चाहन्छु भने त्यो घटना विशेष भएकै कारणले विदेश जानका लागि आएका दुई जना युवाको हत्या भएको घटनालाई लिएर मृतकका परिवारका एक एक जनालाई रोजगारी दिने व्यवस्था पनि सरकारले गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए।