१३ असोज, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध छ । अघिल्ला वर्षहरूमा बाढीपहिरोले अन्य सडकहरू अवरुद्ध हुँदा पनि त्रिभुवन राजपथ सञ्चालन हुने गरेको थियो ।
थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।
दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।
दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ ।
भीमफेदि गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
यस्तै, आधा दर्जन ठाउँमा पहिरो जाँदा फाखेल-हुमाने-चखेल-मातातिर्थ-सतुङगल सडक खण्ड पनि अवरुद्ध भएको छ ।