रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
85

कार्तिक ४। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। 

शुक्रबार पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि अदालत लगिएको थियो। जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले नेपालखबरलाई जानकारी दिए।

पक्राउ परेको दिन शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश दाहालको इजलासले अनुमति दिएको हो। 

रविमाथि अनुसन्धान गर्न प्रहरीले बुधबारसम्मका लागि म्याद पाउनेछन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका पूर्व साझेदार छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन्।

रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थक र प्रहरीबीच घम्साघम्सी पनि परेको थियो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। 

पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here