१४ मंसिर । काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चार जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् ।
दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।त्यस्तै, जिपका चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही दुर्घटनामा आमाछोरीले पनि ज्यान गुमाएका छन् । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।अर्का एकजना मृतकको भने पहिचान खुलिसकेको छैन ।शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा उक्त जिप अनियन्त्रित भइ तीन सय मिटर तल खसेको थियो ।उक्त गाडीमा ८ जना सवार थिए । त्यसमध्ये अन्य तीनजना घाइते भएको र उनीहरूको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।