२१ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने ।
२१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए ।‘अहिलेको २१ औं शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरालाजमर्दो छ । सिंगै संसद् अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यू गम्भीर हुन जरुरी छ । सम्मानित संसद् अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ,’ उनले भने ।
जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ ।
‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन ?’ साहको प्रश्न छ ।