Friday, October 18, 2024

महानगरको चुनौती- धर्मशालाका अनधिकृत संरचना जुनसुकै बेला भत्काउँछौँ

ताजा / भरखरै प्राप्त

असोज ३० । पशुपति धर्मशाला भत्काउन पुगेका काठमाडौँ महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले सरकारसँग जवाफ माग गरेको छ। 

बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकिय भूपदेव शाहले जुनसुकै बेलामा धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरे। 

‘त्यो देवभूमिको क्षेत्रमा कुनैपनि हिसाबले पशुपतिनाथले नै नचाहेको गतिविधि त्यहाँ गर्न पाइँदैन। ती संरचना हटाउन महानगरपालिका कटिबद्ध रुपमा लागिरहेको छ,’ शाहले बुधबार साँझ नेपालखबरसँग भने, ‘प्रशासन सकारात्मक देखिन्छ। तर, माथि जब कुरा पुग्छ त्यहाँको नेतृत्वले पशुपतिनाथको महत्त्व जुन छ त्यो रोक्न खोजिरहेका छन्।’

साथै, उनले महानगरपालिकाले डोजर नियन्त्रणमा लिएको घटनालाई गम्भीर रुपमा लिएको र उक्त कार्यको भत्र्सना गरेको पनि बताए। 

‘नियन्त्रणमा लिएर अगाडि बढाउन दिनुभएन। यसको महानगरपालिकाले घोर भर्त्र्सना गर्छ। उहाँहरूले जसलाई कानुन अनुसार सुरक्षा दिनुपर्ने हो। त्यो नगरेर अमुक एउटा समितिलाई बचाइराख्नुभएको छ। यो कसका लागि, कसका फाइदाका लागि हो, यो विषय गहन रुपमा उठेको छ। सरकारले यसको जवाफ दिनुपर्छ,’ शाहले भने।

उनका अनुसार, पशुपति धर्मशालाको सञ्चालन र व्यवस्थापनका लागि महानगरले जिम्मा पाएको छ। जस अनुसार, पशुपति क्षेत्र विकास कोषले सञ्चालनको जिम्मेवारी दिइसकेको छ।

अर्को महत्त्वपूर्ण विषय चाहिँ धर्मशाला क्षेत्रमा अनधिकृत रुपमा बनेका संरचना भत्काउनु पनि रहेको शाहको भनाइ छ। 

‘पशुपति विकास कोषले हामीलाई सञ्चालन र व्यवस्थापनका लागि दिएको एउटा विषय भयो। अर्को, अनधिकृत रुपमा जुन संरचना बनाइएको छ त्यो भत्काउने विषय छ। यी दुवै विषयमा नियमित रुपमा प्रक्रियामा छौँ,’ उनले थप भने, ‘खाली गराउने एकातिर चलिरहेको छ भने अनधिकृत रुपमा धर्मशाला बाहेक चरन क्षेत्रका लागि दिइएको ठाउँमा पनि संरचना बनाएर, स्वीकृति नलिएर केही संरचना बनेका छन्, ती संरचनाहरू भत्काउनेमा पनि काम गरिरहेको छौँ।’

दिउँसो नियन्त्रणमा लिइएका डोजरहरू नजिकै (एक सय मिटर पर) रहेको वडा कार्यालयमा राखिने र जुनसुकै बेलामा पनि त्यसले आफ्नो काम गर्नसक्ने उनले बताए। 

‘उक्त डोजर लैजानुस् भन्ने कुरा छ। हामी कुनैपनि समयमा एक सय मिटरमा रहेको वडा कार्यालयमा डोजर बस्छ। कुनैपनि समयमा हामी हाम्रो गतिविधि गर्न सक्छौँ,’ उनले भने। 

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।

महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो।

तर, उक्त कार्यप्रति मारवाडी सेवा समितिले आपत्ति जनाएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles