Thursday, November 14, 2024

के हो क्षेप्यास्त्र, कुनको कति शक्ति ?

ताजा / भरखरै प्राप्त

काठमाडौँ — अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिढिएको चीनले अहिले ताइवानको सीमाक्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ । अभ्यासका क्रममा बिहीबार चीनले ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले यो क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको हो  ।

बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ । यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा ‘लाइभ फायर’ को अभ्यास गरिरहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । बिहीबार बिहान भने चीनले ताइवानको हवाई र समुद्री मार्गमा नै असर पर्ने गरी सैन्य अभ्यास गरेको हो ।

युद्धमा प्रयोग हुने क्षेप्यास्त्र कस्ता हुन्छन् ? कुनको शक्ति कति हुन्छ ? समाचार एजेन्सीहरूको सहयोगमा तयार पारिएको जानकारी:

क्षेप्यास्त्रहरू प्रकार, प्रक्षेपण, दूरी, इन्धन, युद्ध अभ्यास र निर्देशन सिस्टमअन्तर्गत विभिन्न प्रकारका हुन्छन् ।

क्षेप्यास्त्र सामान्यतः क्रुज र ब्यालिस्टिक हुन्छन् । यस्तै, प्रक्षेपणको आधारमा यिनीहरू जमिनदेखि जमिनसम्म मार हान्न सक्ने, जमिनदेखि आकाशमा, तटीय क्षेत्रदेखि समुद्रमा, आकाशबाट आकाशमै, अकाशबाट जमिनमा, सुमुद्रदेखि समुद्रमा, समुद्रदेखि जमिनमा मार हान्ने र एन्टी-ट्यांक क्षेप्यास्त्रहरू हुन्छन् ।

क्रुज क्षेप्यास्त्रको गति ५ सय एमपीएच (माइल प्रतिघण्टा), एफ-३५ फाइटरको १२ सय एमपीएच र हाइपर सोनिक क्षेप्यास्त्रको गति ३ हजार ८ सयदेखि ७ हजार ६ सय एमपीएच हुन्छ । इन्टरकन्टिनेन्टेल ब्यालिस्टिक क्षेप्यास्त्रको गति १५ हजार एमपीएच हुने गरेको बीबीसीले जनाएको छ ।


इन्टरकन्टिनेन्टल ब्यालिस्टिक क्षेप्यास्त्र

आक्रमणको दूरीको हिसाबले पनि यी विभिन्न प्रकारका छन् । सर्ट रेन्ज, मिडल रेन्ज, इन्टरमिडिएट रेन्ज ब्यालिस्टिक क्षेप्यास्त्र, इन्टरकन्टिनेन्टल ब्यालिस्टिक क्षेप्यास्त्र हुन्छन् । प्रोपल्सन (संचालक शक्ति)को हिसाबले सोलिड, लिक्वड, हाइब्रिड, क्रायोजेनिकलगायत हुन्छन् ।

वारहेडको हिसाबले हेर्ने हो भने यी क्षेप्यास्त्रहरू पुराना र रणनीतिक तवरबाट निर्माण गरिएका हुन्छन् । यस्तै यिनीहरुको नियन्त्रणको हिसाबले हेर्दा तारबाट, कमान्डबाट, लेजरबाट, जीपीएस प्वाइन्टलगायत अन्य तरिकाबाट निर्देशन दिएर प्रहार गरिने भारतको ब्राह्मोस कम्पनीले जनाएको छ ।

ब्यालिस्टिक क्षेप्यास्त्र एउटा टार्गेटमा सेट गरेपछि त्यसैमा गएर ठोकिन्छ वा प्रहार गर्छ । यसमा एक पटक प्रयोग भएको इन्धनबाटै उक्त क्षेप्यास्त्र सेट गरिएको ठाउँमा पुग्ने गर्छ ।

फेडरेसन अफ अमेरिकन साइन्टिस्टका अनुसार ब्यालिस्टिक क्षेप्यास्त्रको ब्यालिस्टिक ट्राजेक्टरी हुन्छ, अर्थात् यो भने एक पटक मिसाइल चलाउने इन्धन जलाएपछि मिसाइल चलिरहन्छ । यो भनेको बन्दुकबाट गोली निस्किएपछि गएजस्तै हो । यसलाई कुन ठाउँबाट प्रहार गर्ने भनेर पहिले नै निश्चित गरेपछि मात्र प्रहार हुन्छ । ब्यालिस्टिक क्षेप्यास्त्र माथि गएर तल वा कुनै एउटा अर्को जसरी नै गएर मार हान्न सक्छ भने क्रुज क्षेप्यास्त्र स्वचालित हुन्छ । यसले कम उचाइमा सिधा उडेर मार हान्न सक्छ ।

प्रक्षेपणको आधारमा हुने जमिनदेखि जमिनसम्म मार हान्ने क्षेप्यास्त्र हुन्छन् । यिनीहरुलाई पहिले नै तोकिएको स्थानमा प्रक्षेपण गरिन्छ । यस्ता क्षेप्यास्त्रहरू हातबाट, सवारी साधानबाट, एउटा निश्चित स्थानबाट प्रहार गरिन्छ । यसको प्रक्षेपण गर्दा स्थिर अवस्थाबाट गर्ने गरिन्छ । जस्तै कि, रोकिएको गाडी आदिबाट ।

जमिनबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्रहरू हवाइजहाजलगायत विमान, हेलिकोप्टर, ब्यालिस्टिक क्षेप्यास्त्रहरुलाई मार हान्न प्रयोग गरिन्छ । यस्ता क्षेप्यास्त्रहरू एयर डिफेन्स सिस्टममा प्रयोग हुन्छन्‚ जस्तैः एस-४०० ।

जमिनबाट समुद्रमा हान्ने मिसाइलले कुनै पानीजहाज वा अन्य वस्तुलाई लक्षित गरेर मार हान्छन् भने आकाशबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र प्राय: विमान/जेटहरूलाई आक्रमण गर्छन् । यस्ता क्षेप्यास्त्रको गति भने ४ म्याच (करिब ५ हजार किलोमिटर प्रतिघन्टा) को हुन्छ ।

आकाशबाट जमिनमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू विशेषगरी जमिनमा सैन्य आक्रमण गर्दा प्रयोग गर्ने गरिन्छ । यिनलाई प्राय: लेजर, इन्फ्रारेड वा टार्गेटको जीपीएस प्वइन्ट थाहा पाएर मार हान्ने गरिन्छ ।

एन्टिट्यांक मिसाइलहरू प्राय: सैन्य औजार, उपकरण वा एउटा भरिपूर्ण सैन्य सवारी ध्वस्त पार्नका लागि प्रयोग गरिन्छ । यो विमान, हेलिकोप्टर, ट्यांक वा कुन‍ै लन्चरबाट पनि प्रहार गर्न सकिन्छ ।

यसैगरी कन्भेन्सनल वारहेड मिसाइलहरूमा धेरै मात्रामा ऊर्जा भरिएका विस्फोटक पदार्थ भरेर मार हानिन्छ भने रणनीतिक वारहेड मिसाइलहरुमा रेडियोधर्मी पदार्थको प्रयोग हुन्छ‚ जसको क्षति वर्षौंसम्म भइरहन्छ ।

क्षेप्यास्त्र प्रविधिमा गाइडेन्स सिस्टम, टार्गेटिङ सिस्टम, फ्लाइट सिस्टम, इन्जिन र वारहेडजस्ता खण्डहरु हुन्छन् । गाइडेड सिस्टममा क्षेप्यास्त्रलाई टार्गेटसम्म लैजाने काम हुन्छ; यसमा लेजर वा रेडियो वेब्सको मद्दत लिइन्छ । टार्गेटिङ सिस्टमले मार हान्न सक्ने वस्तुको अवस्थिति, दूरी मापन गर्ने, लाग्ने समयको तथ्यांक लिन्छ । फ्लाइट सिस्टमले टार्गेट गरेको वस्तुलाई मार हान्नका लागि टार्गेटिङ र गाइडेन्स सिस्टमबाट तथ्यांक लिएर क्षेप्यास्त्रको फ्लाइट निर्धारण गरेर कुनै पनि त्रुटि कम गराउन भूमिका खेल्छ ।

इन्जिन सिस्टम भनेको मिसाइललाई चाहिने इन्धन हो ।यसमा रकेट र जेट इन्जिन प्रयोग हुन्छ । रकेट इन्जिनहरू एन्टिब्यालिस्टिकमा प्रयोग गरिन्छ भने जेट इन्जिन क्रुज फिसाइटमा प्रयोग गरिन्छ । वारहेडमा मिसाइलले बोक्ने विस्फोटक हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles