दैनिक २८ जना ठगिन्छन् विदेश जान चाहने नेपाली 

0
31

काठमाडौं, माघ १५ । क्रोएसिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काभ्रे महाभारत गाउँपालिका–२ की लालिमाया दर्लामीलाई नेपाल प्रहरीले २०८१ माघ ११ गते पक्राउ गर्यो । उनी पीडितबाट ५ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् । 

यही माघ ८ गते प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जनालाई पक्राउ गर्‍यो । 

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभुमि नगरपालिका–७ का सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका–१२ का राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ का सुमन्ता लिम्बु थिए । 

Dabur Nepal
NIC Asia

उनीहरू माल्दिभ्स, क्रोएसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) पठाइदिन्छु भनी पीडितहरूसँग १५ लाख ५ हजार ५ सय रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए ।

यस्तै, माघ ८ गते प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा बृन्दावन नगरपालिका–६ का विजय साह, धनुषाधाम नगरपालिका–४ की नेहा अधिकारी र नेत्रावती डबजोङ गाउँपालिका–५ का विवाह घले थिए । 

उनीहरूमाथि मलेसिया, बेलायत र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ ।

उनीहरूमध्ये विजयले मलेसिया पठाइदिने भन्दै ८० हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भनी २४ लाख ५० हजार रुपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ पीडितसँग लिई सम्पर्कविहीन भएका थिए ।  वैदेशिक रोजगारीको नाममा ठगी गरेकै आरोपमा प्रहरी माघ ६ गते एक जना र ७ गते दुई जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र गल्याङ नगरपालिका–८ की जमुना परियार छन् ।  तिलकले बेलायत पठाइदिन्छु भन्दै  एक लाख रूपैयाँ, हरिले अमेरिका पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ र जमुनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २८ लाख रूपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए ।

यही माघ ४ गते नै प्रहरीले अमेरिका र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ की चन्द्रकला रदाखु राई र सोनाम गाउँपालिका–२ की सरिताकुमारी यादव छन् । 

चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रूपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । 

माघ महिनामा घटेका वैदेशिक रोजगारीमा ठगीसम्बन्धी केही प्रतिनिधि घटना मात्र हुन् । दिनहुँ कोही न कोही वैदेशिक रोजगारीका नाममा ठगिएको तथ्याङ्कले देखाउँछ । 

तथ्याङ्कले भन्छ– वैदेशिक रोजगारीका नाममा ठगी धन्दा मौलाउँदै गएको छ । पछिल्लो ६ महिनामा मात्र ठगीका ५ हजार ११६ वटा उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् । अर्थात् औसतमा दैनिक वैदेशिक रोजगारीमा ठगीसम्बन्धी २८ वटाभन्दा बढी उजुरी विभागमा पर्ने गरेका छन् । औसतमा दैनिक २८ जना व्यक्ति ठगिने गरेका छन् । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त संख्यामा उजुरी परेको हो । उक्त अवधिमा वैदेशिक रोजगारीमा जान ३ लाख ९३ हजार ६७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए ।

यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जान प्रक्रिया सुरु गर्नेमध्ये १.३० प्रतिशतभन्दा बढी विभिन्न व्यक्ति तथा संस्थाबाट ठगिने गरेको देखाउँछ । 

“पछिल्लो ६ महिनामा २४ लाख रुपैयाँभन्दा बढी रकम असुल उपर गरी पीडितलाई उपलब्ध गरेका छौं,” वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बाह्रखरीसँग भने ।

बितेको ६ महिनामा परेका ठगीका उजुरीमध्ये २ हजार ४९३ वटा उजुरी फछ्र्यौट गरिएको छ । ती पछ्र्यौट गरिएका उजुरीका पीडितलाई २४ करोड ६७ लाख ३३ हजार १६० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गरिएको छ । “अदालतबाट मुद्दाको सुनुवाई भइसकेका र मेलमिलाप भएपछि पीडितहरूलाई उक्त रकम उपलब्ध गरिएको हो,” महानिर्देशक खत्रीले भने ।

विभागको तथ्याङ्क अनुसार, यस अवधिमा उद्धार, राहत तथा समन्वय शाखामा ९५४ वटा उजुरी परेका थिए । तीमध्ये ५२० उजुरीको फछ्र्यौट भएका छन् भने पीडितहरूलाई क्षतिपूर्ति स्वरुप ४ करोड ८७ लाख २९ हजार ५५० रुपैयाँ उपलब्ध गरिएको छ । 

बितेको ६ महिनामा मुद्दा तथा अनुसन्धान शाखामा २ हजार १६ उजुरी परेका थिए । ती उजुरीमध्ये २९७ वटामा मिलापत्र गरिएको छ भने ९८ वटा मुद्दा अदालतमा दायर गरिएको छ । शाखाले १९ करोड ६७ लाख ९९ हजार ११० रुपैयाँ क्षतिपूर्ति भराएको छ । 

यस्तै, प्रहरी शाखामा २ हजार १४६ वटा उजुरी पछिल्लो ६ महिनामा परेका छन् । यी उजुरीमध्ये १ हजार ६७६ को फछ्र्यौट गरिसकिएको छ । शाखाले पीडकबाट १२ लाख ४ हजार ५०० रुपैयाँ असुल गरी पीडितलाई उपलब्ध गरेको छ । 

विभागका महानिर्देशक खत्रीका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा पीडितलाई १४ करोड ९ लाख १८ हजार रुपैयाँ उपलब्ध गरिएको थियो । 

“अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति पीडितलाई उपलब्ध गरेका छौं,” महानिर्देशक खत्रीले भने ।

गत आर्थिक वर्ष २०८०/८१ मा विभागमा वैदेशिक रोजगार ठगीसम्बन्धी ७ हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । यी उजुरीमध्ये ३ हजार ८३६ वटा उजुरी फछ्र्याैट गरिएको थियो । ती उजुरी पछ्र्यौट गर्दा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । 

विभागले उपलब्ध गरेको विवरण अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा उद्धार, राहत तथा समन्वय शाखामा १ हजार ४४२ वटा उजुरी परेका थिए । यीमध्ये ७८७ को फछ्यौट हुँदा ४ करोड ६८ लाख १८ हजार २८५ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।

उक्त अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा २ हजार ९१६ वटा उजुरी परेकोमा ४५५ वटामा मिलापत्र भएको थियो । ३९० वटा मुद्दा अदालतमा दायर गरिएको थियो । ती उजुरीमा २४ करोड ४९ लाख ६९ हजार ५२९ क्षतिपूर्ति भराइएको थियो । 

यस्तै, प्रहरी शाखामा गत आर्थिक वर्ष ३ हजार ४०५ वटा उजुरी दर्ता भएका थिए । दर्ता भएका उजुरीमध्ये ८६ मा मिलापत्र भएको थियो भने २ हजार २१७ फछ्र्यौट गरिएको थियो । उजुरी फछ्र्यौट गर्दा १ करोड ७५ लाख १ हजार ६९८ रुपैयाँ रकम असुल गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here