सरकारले अध्यादेशबाट शासन सञ्चालन गर्न लागेको भनी आलोचना भइरहेका बेला संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदामा स्पष्टीकरण दिएका छन्।
शुक्रबार (माघ १८ गते) सुरु संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै उनले सरकारले ल्याएका अध्यादेश ल्याउनुको कारण प्रस्तुत गरेका हुन्।
‘तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी १२, भूमि तथा वन सम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेशमार्फत एकैपटक यी कानुन संशोधन गरिएपछि, मिडियाकै शब्द सापटी लिएर भन्छु- सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको छ।’

यस क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशबाट हुने उपलब्धि ६ बुँदामा प्रस्तुत गरे। जुन यस्ता छन्:
–सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने छ। कानुनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको छ।