उपेन्द्र यादवले मागे मधेसको मुख्यमन्त्री

0
43

माघ २४ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकार आफ्नो पार्टीको नेतृत्वमा हुनुपर्ने माग गरेका छन्।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै छलफल गरेका यादवले मधेस सरकार जसपा नेपालको नेतृत्वमा हुनुपर्ने माग गरेका हुन्।

मधेस सरकार सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा छ।

सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधि सभामा सजिलै स्वीकृत हुने भए पनि राष्ट्रिय सभामा सत्ता पक्षलाई जसपा नेपालको साथ चाहिन्छ। जसपा नेपालका ३ जना सांसदहरू राष्ट्रिय सभामा छन्।

सरकारले ल्याएका अध्यादेश मात्र होइन, भविष्यमा ल्याउने विधेयक पारित गर्न पनि राष्ट्रिय सभामा बहुमत आवश्यक पर्छ।

राष्ट्रिय सभामा कांग्रेस-एमाले र लोसपाका गरी २८ सांसद छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद चाहिन्छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ। सरकारलाई समर्थन गरेको दललाई मधेस सरकारमा भए पनि सामेल गर्न कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन्।

कांग्रेसका एक नेताका अनुसार यादवले मधेसको मुख्यमन्त्री मागेका छन्। ‘उहाँले मधेस मुख्यमन्त्री पाउनुपर्छ भन्नुभएको छ, दीर्घकालीन सहकार्यका लागि कांग्रेस-एमाले पनि सकारात्मक छन्,’ ती नेताले दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here