२२ फागुन, बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु तराई मधेश जागरण अभियानको क्रममा बालेन शाहको पुर्ख्यौली घरमा समेत पुगेका छन् ।
उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए । महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन शाहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो ।सो कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘बालेन शाहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’
समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको बताए । ‘हजारौंको बलिदान गरेर पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकको मुद्दालाई स्थापित नगरेको भए आज देश यो ठाउँमा हुने थिएन,’ उनले भने ।