Monday, March 31, 2025

भब्य दर्शकीय सहभागिता माझ एडिलेडमा गुञ्जियो ‘नेपथ्य’

एडिलेड (अस्ट्रेलिया) । कार्यक्रम अन्तिम लहरतिर पुगेको थियो । गितारवादक नीरज गुरुङले एउटा धुन निकालेका मात्र के थिए, दर्शकले भेउ पाइहाले । हलभरि खचाखच सिंगो भीडले समुद्रको लहरजस्तै हल्लिएर दोहोर्‍याउन थाल्यो, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना ।’ यो क्रम एक मिनेटसम्मै चल्यो ।

‘दिस इज अमेजिङ (यो गजब भइरहेको छ),’ १७ वर्षदेखि एडिलेड बस्दै आएका राजु पौडेल उपाध्याय भनिरहेका थिए, ‘यस सहरमा कुनै नेपाली कार्यक्रम हुँदा हलभित्र यति धेरै भिड र यस्तो भव्य मुड मैले कहिल्यै देखेको थिइनँ ।’ पछि स्वयं गायक अमृत गुरुङले यो गीत गाउँदा पनि उनको आवाजभन्दा चर्को स्वर दर्शककै सुनिन्थ्यो ।विद्युत वितरणसम्बन्धी स्थानीय निकायमा प्रिन्सिपल इन्जिनियर रहेका राजुलाई यस दृश्यले झन् उत्तेजित बनाइरहेको थियो । पचासवर्षे उनी घरी भीडभित्र पसेर नाच्थे त घरी छेउमा आएर साथीहरूसँगै ताली बजाउन थाल्थे ।

कुनै समय बेलायती साम्राज्यकै रानीको नाम दिएर व्यवस्थित बसोबास गराइएको सुन्दरतम सहर एडिलेडमा नेपथ्य शुक्रबार साँझ प्रस्तुत भएको थियो । यस वर्षको अस्ट्रेलिया यात्राको पाँचौं कन्सर्ट नेपथ्यले एडिलेडमा गरेको हो । यस सहरमा नेपथ्य उभिएको पनि यो पाँचौंपटक नै हो । यसअघि दुईपटक प्रस्तुत भएकै ‘हिन्डले स्ट्रिट म्युजिक हल’ मा यसपटक कार्यक्रम गरिएको थियो । साँझ ७ बजे हलका ढोका खुला गरिए पछि दर्शकको सुविधालाई ध्यानमा राखेर ठिक ८ः३० बजे कन्सर्ट सुरु भएको थियो ।

दर्शकले भरिभराउ हलभित्र पहिलो गीत ‘कोशीको पानी’ प्रस्तुत हुनासाथ दर्शक नाच्न थालिसकेका थिए । दर्शकले स्वरमा स्वर मिलाउने र नाच्ने क्रम झन् बढ्दै गएको थियो ।

लोकप्रिय