Monday, March 31, 2025

सुशान्तको घटनामा ‘हत्याको प्रमाण भेटिएन’, अनुसन्धान प्रतिवेदन पेश

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले ५ वर्षको अनुसन्धानपछिको अन्तिम प्रतिवेदन मुम्बईको विशेष अदालतमा पेश गरेको छ ।

प्रतिवेदनमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साउने कुनै प्रमाण नभेटिएको बताएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई यो मुद्दामा ‘क्लिन चिट’ दिइएको आजतकले उल्लेख गरेको छ ।अनुसन्धानमा रियाविरुद्ध कुनै प्रमाण फेला नपरेको भनिएको छ । अभिनेता राजपुत १४ जुन २०२० मा बान्द्रास्थित घरमा मृत फेला परेका थिए । मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । प्रतिवेदनमा मृत्युको वास्तविक कारण ‘आत्महत्या’ भएको उल्लेख गरिएको छ ।

यस मामलामा रिया २७ दिन जेलमा बसेकी थिइन् । सीबीआईबाट अन्तिम रिपोर्ट आएपछि रियाका वकिल सतीश मानेशिन्देले विज्ञप्ति जारी गर्दै यस मामिलामा धेरै झुटा कथाहरू सिर्जना गरिएको बताए । सुशान्तका बुबा केके सिंहले रियाविरुद्ध आत्महत्याका लागि उक्साएको, ठगी र पैसाको दुरुपयोग गरेको आरोप लगाएका थिए । रियाले पनि उजुरीमा सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् ।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुन २०२० मा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो । यी दुवैको मृत्यु शंकास्पद मानिएको छ । अब यो प्रतिवेदन स्वीकृत गर्ने वा थप अनुसन्धानको आदेश दिने भन्ने निर्णय अदालतले गर्नेछ ।

लोकप्रिय