सप्तरी, १४ चैत । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा भारत सरकारको सहयोगमा श्री जनता माध्यमिक विद्यालयको भवन बन्ने भएको छ । भवन निर्माणको शिलान्यास बुधबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन् ।‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.७६ करोड रुपैयाँ परियोजना लागतमा विद्यालय भवन निर्माण भइरहेको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको छ र सप्तरीको सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
श्री जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन् जसमध्ये ६०% छात्राहरू रहेका छन् ।

कार्यक्रम मन्त्री तेजुलाल चौधरी, मेयर गीत चौधरी लगायतले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण हुने पूर्वाधारले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।